काठमाडौं- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालन बोर्डबाट निजी क्षेत्रको प्रतिनिधित्व हटाउने निर्णय गरेको छ।
नागरिक उड्डयन ऐन २०५३ को दफा १३ को उपदफा १ को (च) मा रहेको निजी क्षेत्रका समेत गरी वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत २ जना सदस्य रहने व्यवस्था हटाउने निर्णय मन्त्रिपरिषबाट भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।
साथै सोही दफाको १ (ङ) मा भएको व्यवस्थाको सट्टा नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनित एक जना महिलासहित दुई सदस्य रहने गरी निर्णय गरिएको उनले जानकारी दिए।
यसअघि नागरिक उड्डयन सञ्चालन बोर्डमा नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनित एक जना सदस्य र निजी क्षेत्रकासमेत गरी वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरूमध्येबाट नेपाल सरकारबाट मनोनित २ जना रहने व्यवस्था थियो।
केही समय अगाडि मात्रै प्राधिकरणको सञ्चालनक समितिबाट हिमालय एयरलाइन्सको उपाध्यक्ष विजय श्रेष्ठले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।