धनगढी- दुई महिनापछि धनगढी विमानस्थल पूर्ण रुपमा सञ्चालन भएको छ। पटक-पटक गरी दुई महिनासम्म आशिंक बन्द रहेको विमानस्थल मंगलबारदेखि पूर्ण रुपमा सञ्चालन गरिएको हो।
विमानस्थल स्तरवृद्धिका लागि आंशिक बन्द गरिएकोमा मंगलबारदेखि पूर्ण रुपमा सञ्चालन गरिएको धनगढी विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले बताए। सो विमानस्थलमा बुद्ध एयरले दैनिक २ उडान भर्ने भएको छ।
उनका अनुसार चिसोका कारण अहिले काम गर्न नसकिने अवस्था भएपछि तत्कालका लागि विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको हो। मौसममा सुधार भएपछि आवश्यक परेमा फेरि विमानस्थल आंशिक बन्द गरिने उनले बताए।
यसअघि पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै पुस २१ गते सम्मको लागि आंशिक बन्द गरिएको थियो। पुस २१ सम्म पनि काम नसकिएपछि फेरि माघ १० सम्मका लागि आंशिक बन्द अर्थात् दिउसो ३ बजेपछि बन्द गर्ने निर्णय भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग छ। झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिनेछ भने दुवैतर्फ २/२ मिटर फराकिलो धावनमार्ग बनाउने योजना रहेको छ।
यस्तै अहिले ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अब थप एक जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। यसअघि जेठमा पनि विमानस्थल मर्मत सम्भार र स्तरवृद्धिका लागि भन्दै एक महिना बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।