काठमाडौ- उच्च अदालत पाटनले व्यापारिक घराना यति समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङले लिजमा पाएको दरबारमार्गको भवन निर्माणसम्बन्धी मुद्दालाई उच्च प्राथमिकतामा राखेको छ।
न्यायाधीश द्वय तेजबहादुर कार्की र टेकनारायण कुँवरको संयुक्त इजलासले यो विवाद छिटै सामाधान गर्नुपर्ने भएको भन्दै अग्राधिकार दिएको हो।
नेपाल ट्रस्टको स्वामित्वमा रहेको घरजग्गा लिजमा दिँदा रकम फरक परेकोबारे यथाशक्य छिटो टुंगोमा पुर्याउने र गम्भीर भएको भन्दै उच्चले अग्राधिकार दिएको हो।
यसअघि उच्चले अल्पकालीन आदेश जारी गरेको थियो। सो आदेशमा भनिएको थियो, 'महानगरले भवन निर्माण सम्पन्न प्रमाणपत्र पेश गरेकाले निर्माण रोक्नू भनी आदेश जारी गर्नुपर्ने देखिएन।' तर लिजमा दिइएको बारे निर्णयमा पुग्नुपर्ने देखिएको उच्चको ठहर छ।
उच्चले हाल अन्तरिम आदेश जारी गरी नरोक्दा कुनै अपूरणीय क्षति नहुने भएकाले अन्तरिम जारी नगरी प्राथमकिता दिएर सुनुवाइ गर्ने निर्णय गरेको हो।
यसअघि उच्चले यो विषय गम्भीर कानुनी व्याख्याको विषय भएको भन्दै उच्च अदालत बारबाट एमिकस क्युरी मगाउने आदेश गरेको थियो।
कुनै कानुनी व्याख्याको आवश्यकता ठहर भएमा स्वतन्त्र रुमपा राय दिने गरी एमिकस क्युरी मगाउने परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।