काठमाडौं- सरकारले बालबालिका, युवायुवती तथा जेष्ठ नागरिकका लागि काठमाडौं उपत्यकामा तीन छुट्टाछुट्टै पार्क बनाउने भएको छ। बालबालिका र युवायुवतीका लागि मनोरञ्जन तथा भेटघाट र जेष्ठ नागरिकका लागि पनि त्यस्तै खालको पार्क बनाउने तय भएको हो।
गएको सोमबार शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने क्रममा पदबहाली गर्दै सरकारका प्रवक्ता समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले उक्त निर्णय गरेका हुन्। शहरमा सबै उमेर समूहका मानिसलाई मनोरञ्जन स्थल तथा फूर्सदको समय व्यथित गर्ने उपयुक्त स्थानको अभाव भएको भन्दै सरकारले नै पार्क बनाउने भएको हो।
मन्त्री बाँस्कोटाले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बालबालिकाका लागि चिल्ड्रेन, युवायुवती र वृद्धवृद्धाका लागि बाजेबज्जै पार्क बनाउने निर्णय गरेका हुन्। मन्त्रीले घोषणा गरेको तीनवटै पार्क बनाउने र शहरी सौन्दर्य कायम गर्दै केटाकेटी, युवायुवती र वृद्धवृद्धालाई आकर्षित गर्न तीनवटा फरक फरक पार्क बनाउन लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ।
उपत्यकाको तीनवटै जिल्लामा हुने गरी तीनवटा पार्क बनाउने तय भएको शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दुवाडीले बताए। शहरमा युवायुवतीले मनोरञ्जन गर्न र बिदाको दिन तथा बिहान बेलुका फूर्सदको समय बिताउन यस्तो पार्क आवश्यक भएको महशुस गरी पार्क बनाउने निर्णय भएको उनको भनाइ छ।
यसअघि काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त तथा प्रदेश ३ का पूर्व मन्त्री केशव स्थापितले काठमाडौंमा युवायुवतीको लागि लभ पार्क आवश्यक भएको बताएका थिए। स्थापितले भनेजस्तै लभ पार्क नै नभनेपनि सरकारले युवायुवती पार्क बनाउने भएको छ। पार्क कस्तो हुने र कहाँ बनाउने भन्ने विषय अर्को सातासम्ममा टुंगो लाग्ने दुवाडीले जानकारी दिए।
मन्त्रालयले वृद्धवृद्धाको लागि धोवि खोला किनारमा रहेको आठ रोपनी जग्गामा बाजेबज्यै पार्क बनाउने भएको योजना बनाएको छ। यो स्थानमा बन्ने पार्कमा वृद्धवृद्धाले बिहादेखि बेलुकासम्म नै विभिन्न मनोरञ्जन, पुस्तकालय, क्रियटिभ कार्य, हिलडुडल गर्नेसहितको विभिन्न गतिविधि गर्ने व्यवस्था मिलाइनेछ। पार्कमा दिइने सेवा र सुविधाका कारण वृद्धवृद्धालाई आकर्षित गर्न सकिने पनि उल्लेख छ। सुरुमा सरकारले पार्कमा सिमित लगानी गर्ने र त्यसमा पछि नीजि लगानीकर्ता आकर्षित भए एउटा मोडालिटी बनाएर सञ्चालन गर्न सकिने योजना मन्त्रालयले बनाएको दुवाडीको भनाइ छ।
मन्त्रालयले केटाकोटीका लागि बनाइने पार्क भक्तपुर वा ललितपुर कहाँ बनाउने भन्ने टुंगो लगाउन बाँकी रहेको छ। ललितपुरमा एक सय रोपनी जग्गा पाइएको छ। यही जग्गा प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रालयले टुंगो लगाउनै बाँकी रहेको दुवाडीले जनाकारी दिए।
सार्वजनिक जग्गाको सदूपयोग हुने र पार्क बनाएर शहरी सौन्दर्य पनि निर्माण हुने भएकोले मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो। मन्त्रालयले बनाउने पार्कमा सुरुमा प्रत्येक पार्कमा २/३ करोड रुपैयाँ लगानी गर्ने बजेट रहेको दुवाडीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।