काठमाडौं- नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालय बीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतामा नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमणवर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ। भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेबसाइटलाई एकअर्काले होम पेजको रुपमा प्रयोग गर्नेछन्।
नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवर्द्धनलाई मद्दत पुर्याउन निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने भएको छ।
यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइने पनि सम्झौतामा उल्लेख छ।
सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।