काठमाडौं- नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारका ५८ बुँदामध्ये आफ्नो भागमा परेको ६८ प्रतिशत काम सम्पन्न गरेको छ।
बोर्डले बुधबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोर्डसँग सम्बन्धित सुझावमध्ये अधिकांश काम सकिएको जनाएको हो। बाँकी काम पनि सम्पन्न हुने क्रममा रहेको जानकारी दिएको हो।
समीक्षाकै क्रममा बोर्डले कमोडिटी एक्सचेन्जको अनुमति दिने प्रक्रिया सुरु भएको जनाएको छ। बोर्डमा यस अगाडि परेका ६ वटा निवेदनको अध्ययनको काम सुरु भएको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए।
बोर्डले अध्ययन तथा छलफल गरेर छिट्टै यसलाई टुङ्गो लगानी उनले बताए। नयाँ एक्सचेन्जको लागि छनोट समिति बनाइएको हुँदा चाँढै नै टुङ्गो लगाउने बोर्डले जनाएको छ।
कमोडिटी एक्सचेन्जसँगै स्टक एक्सचेन्ज पनि दुई वटा हुनुपर्ने बहस भइरहेकोले सो विषयमा पनि अध्ययन गरिने उनले बताए। 'यस विषयमा कुरा उठेसँगै एउटा पक्षबाट नयाँ एक्सचेन्ज चाहिन्छ भन्ने माग आएको छ भने अर्को पक्षबाट विरोध आयो। त्यसैले यस विषयमा अध्ययन र छलफल गरेर चाहिने लाग्य भने दिन्छौं नभए दिदैनौं,' उनले भने।
प्रादेशिक स्तरमा ब्रोकर कार्यालय खोल्ने बोर्डको निर्देशनपछि नेप्सेले एक अध्ययन गरी प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदन हेरेर उचित निर्देशन दिइने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए।
ऋणपत्रले सार्जनिक निष्काशनको ८३ प्रतिशत ओगेटेको छ। पछिल्लो समय प्राथमिक शेयर निष्काशनमा कमि आए सँगै ऋणपत्रको हिस्स बढेको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने व्यवस्था गरेको थियो। यसैले गर्दा ऋणपत्रको निष्काशन बढेको बोर्डले जनाएको छ।
बोर्डले ६ महिनाको अवधिमा १६ अर्ब ५० करोड रुपैयाँको प्राथमिक निष्काशन अनुमति प्रदान गरेको छ। समीक्षा अवधिमा एउटा जलविद्युत कम्पनीले ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरे पनि जम्मा २१ प्रतिशत अर्थात् मात्रै बिक्री भएको छ।
बिमा कम्पनी र लघुवित्तहरूको हकप्रद निष्काशन भने बढेको छ। यसै अवधिमा बोर्डले दुई अर्ब २० करोड रुपैयाँको हकप्रद निष्काशनका लागि अनुमति प्रदान गरेको छ। त्यस्तै यस वर्ष बोसस शेयरको दर्ता बढेको छ। समीक्षा अवधिमा ३७ वटा कम्पनीले ११ अर्ब ६० करोड रुपैयाँको बोनस शेयर दर्ता गराएका छन्।
बोर्डका अनुसार समीक्षा अवधिमा दोस्रो बजारमा भएको औषत कारोबार अनुसार दैनिक ३२ करोड ५० लाख रुपैयाँको खरिद बिक्री भएको देखिएको छ। शेयर बजार गिरावटको प्रभाव दोस्रो बजारको कारोबार रकममा देखिएको हो।
शेयर सूचीकरण बढ्नुका साथै नेप्से सूचकमा सुधार आउँदा बजार पुँजीकरण पनि थप बढेको बोर्डले जनाएको छ। बजार पुँजीकरण बढेर १६ खर्ब १० अर्ब रुपैयाँको भएको छ। पछिल्लो समयको सुधारले बुधबार भने बजार पुँजीकरण १६ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमै दोस्रो बजारबाट पहिलो पटक ऋणपत्रको पनि अनलाइन कारोबार भएको छ। गएको महिना नेप्सेको अनलाइन प्रणालीबाट ऋणपत्र खरिद बिक्री भएको थियो। यही अवधिमा ब्रोकरले मार्जिन सुविधा प्रदान गर्न थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।