काठमाडौं- कारोबार सुरु भएको केही समय लगानीकर्ताले नाफा बुक गर्न खोज्दा घटेको बजार अन्तिम समयमा २०.८५ अंकको सुधार देखिएको छ। लगानीकर्तामा बजार सुधार हुन्छ भन्ने मनोविज्ञानले नाफा बुक सँगसँगै थप सुधारको संकेत देखिएको छ।
वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल आउदा अन्तिम समयमा शेयर बजारमा थप सुधार देखिएको हो। गएका दिनमा बीमा कम्पनी, लघुवित्तले सुधार देखिएकोमा आज वाणिज्य बैंकहरुले सुधार गरेको छ।
गएका दिनमा माइक्रोफाइनान्स र बीमा कम्पनीहरुको शेयरमा भएको नाफा बुक गरेर लगानीकर्ताहरुले बुधबार वाणिज्य बैंकको शेयरमा लगानी गरेका छन्। यसैले गर्दा वाणिज्य बैंकको सूचक २७ अंकले सुधार देखिएको छ।
केही समय अगाडि शेयर खरिद गरेकाले नाफा बुक गरिरहेका छन्। उक्त नाफा बुक गर्दा आर्जन भएको पैसा पुनः शेयर बजारमै आउँदा बजार थप गतिशील भएको हो। मंगलबार नाफा बुक गर्दा खोज्दा केहि करेक्सन देखिएको बजारमा बुधबार पनि करेक्सनकै निरन्तरता हुने अनुमान गरिएको थियो। तर अन्तिम समयमा बजार सुधार हुँदा कारोबार रकम समेत बढेको छ।
कारोबार सुरु भएको दुई घण्टासम्म जम्मा ३० करोड हाराहारीको कारोबार भएकोमा अन्तिम दुई घण्टामा बढेर ९० करोड ४८ लाख रुपैयाँको भएको छ। बुधबार नेप्से सूचक २०.८५ अंकले सुधार भएर १२८४.२३ अंकमा रोकिएको छ। अगभग तीन महिनाको अवधिमा १७५ अंकको सुधार भएको छ।
पछिल्लो समय बजार सुधार हुने संकेत देखिए सँगै नयाँ तथा पुराना लगानीकर्ता बढि सक्रिय छन्। बैंकहरुले ब्याजदर घटाउने संकेतले पनि बजारलाई थप टेवा पुर्याएको हो। वाणिज्य बैंकहरुमा ठूला कर्जाको माग आउन छाडेपछि शेयर शेयर कर्जामा केन्द्रित देखिन थालेका छन्। यसले बजारमा थप पैसा आउन मद्दत गरेको हो।
बुधबार ७ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। जसमा विशाल बजारसहित केही माइक्राफाइनान्स रहेका छन्। जम्मा १७७ वटा कम्पनीको शेयर खरिद बिक्री भएकोमा १२७ वटाको मूल्य बढेको छ भने २३ वटाको घटेको छ। होटल, उत्पादन तथा प्रसोधन र अन्यको सूचकमा सामान्य गिरावट आए पनि बाँकी सूचक तथा उपसूचक सुधार देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।