काठमाडौं- ‘नेपाल–भारत पेट्रोलियम तथा ग्याँस जोइन्ट वर्किङ’ ग्रुपको पहिलो बैठकमा भारतको सिलगुडीबाट नेपालको झापासम्म दोस्रो अन्तरदेशिय पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ।
यसका लागि नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनकाे सम्भाव्यता मूल्यांकन गर्नेछ। पुष २७ र २८ गते भारतको नयाँ दिल्लीमा भएको बैठकमा यस विषयमा छलफल भएको नेपाली भ्रमण टोलीको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव ध्रुव घिमिरेले जानकारी दिए।
बैठकमा पेट्रोलियम पदार्थकाे नियमित आपूर्ति, नेपालमा पेट्रोलियम पूर्वाधारको विकास, मोतिहारी अमलेखगंज अन्तरदेशिय पेट्रोलियम पाइपलाइनकाे पूर्ण क्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थको भण्डारण केन्द्र निर्माणमा सहयोग आदान–प्रदान गर्ने विषयमा छलफल भएको छ।
यस्तै बाराको अमलेखगंजबाट चितवनको लोथरसम्म पेट्रोलियम तथा ग्याँस पाइपलाइन विस्तार गर्ने सम्बन्धमा विस्तृत प्राविधिक प्रतिवेदन तयार गरी जोइन्ट वर्किङ ग्रुपमा प्रतिवेदन पेश गर्न संयुक्त अध्ययन टोली गठन गर्ने, अमलेखगन्ज डिपोको बाँकी स्तरोन्नतीको कार्य छिट्टै सम्पन्न गर्ने, झापा र धनुषामा बन्ने निगमको बोटलिङ प्लाण्टमा भारतीय आयल निगमले प्राविधिक सहयोग उपलब्ध गराउने लगायतका विषयमा पनि दुई पक्षबीच समझदारी बनेको छ।
नेपालमा पेट्रोलियम तालिम केन्द्र स्थापना गर्ने विषयमा पनि भारतीय पक्ष सकारात्मक देखिएको छ। यसका लागि नेपाल आयल निगमले उपयुक्त स्थानको छनौट गरी भारतीय आयल निगमलाई त्यसको जानकारी दिनुपर्नेछ। यता लखनउबाट हवाई इन्धन ल्याउने विषयमा नेपाल पक्षले राखेको प्रस्ताव पुनरावलोकन हुनपर्ने विषयमा भारतीय पक्षले जोड दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव घिमिरेको नेतृत्वमा नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रकुमार पौडेल, निगमका नायव कार्यकारी अधिकृत सुशील भट्टराईलगायत ८ जना पदाधिकारीहरुको बैठकमा सहभागिता रहेको थियो। भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्याँस मन्त्रालयका सह-सचिव वि.एन. रेड्डीको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधीमण्डलको सहभागीता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।