काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको ४ दिनपछि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्न पुगे। तत्कालीन मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिएपछि रिक्त मन्त्री पदको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका बाँस्कोटालाई दिइएको थियो।
सञ्चार मन्त्रालयबाट बाँस्कोटा हिँडेर सहरी विकास पुगेका थिए। नयाँ मन्त्रालयमा मन्त्री बाँस्कोटालाई स्वागत गर्न राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसूदन अधिकारी, सहसचिवहरू एवं काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी लामबद्ध थिए।
मन्त्री बाँस्कोटालाई सबैभन्दा पहिले राज्यमन्त्री मानन्धरले खादा लगाइदिए। त्यसपछि सचिव अधिकारीले माला लगाइदिए। सधैंझैँ तीव्र रफ्तारमा रहेका मन्त्री बाँस्कोटालाई आफ्नो हातमा रहेको फूल हस्तान्तरण गर्दै तिवारीले भने- स्वागत छ हजुर।
तिवारीले 'स्वागत छ' भनेपछि मन्त्री बाँस्कोटाले सोधे- तपाईं पनि यहाँ?
तिवारीले जवाफ दिए- काठमाडौं उपत्यका यही मन्त्रालय मातहत पर्छ, त्यही भएर।
बाँस्कोटा रोकिएनन् र फेरि सोधे- तपाईंको र मेरो झगडा याद छ नि?
तिवारीले जवाफ दिए- छ हजुर।
के भएको थियो?
गत वर्ष काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुरको बालकोटमा बाटो विस्तार गरेको थियो। त्यही क्रममा मन्त्री बाँस्कोटालाई निवास आवत-जावतमा समस्या पर्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका बाँस्कोटालाई बाटो विस्तारले झनै समस्या पार्यो।
त्यसपछि उनले विकास आयुक्त तिवारीलाई फोन गरेर बाटो हिलाे बनाइदिएको भन्दै रोष पोखे।
तिवारीले पनि काम भइरहेको जवाफ दिए। प्राधिकरणले यो बाटो ग्राभेल गरेर छाडिदियो।
सडक विभागले बाटो कालोपत्रे गरिदिएपछि अहिले त्यहाँको बाटो बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।