काठमाडौं- निजी हवाई सेवा प्रदायक श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान गर्ने भएको छ।
एयरलाइन्सले पाँच महिनाअगाडि ल्याएको टर्बोप्रोप क्यु-४०० जहाजमार्फत उडान गर्न लागको हो। श्रीले अहिले भैरहवा, विराटनगर, भद्रपुर नेपालगञ्ज, धनगढीमा उडान गरिरहेको छ र योसँगै श्रीले उडान भर्ने गन्तव्य ६ वटा भएको छ।
श्रीले जनकपुरपछि सिमरामा पनि उडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ भने पर्यटकीय नगरी पोखरामा पनि उडान गर्ने तयारी थालेको छ।
श्रीले जनकपुरको उडान थालेसँगै उक्त गत्तव्यमा पनि ३ पक्षीय प्रतिस्पर्धा हुने भएको छ। श्रीको आगमनसँगै आन्तरिक उडानमा लामो समयदेखि एकछत्रजस्तै रजाईं गर्दै आएका बुद्ध र यतीसँग श्रीले प्रतिस्पर्धा गरिरहेको छ। श्रीसँग ४ सिआरजे र दुईवटा ८० सिट क्षमताको टर्बोप्रोप क्यु-४०० जहाज छ।
अहिले आन्तरिक उडानको बजार हिस्सामा बुद्ध अगाडि रहेको छ। श्रीको आगमनसँगै बुद्धको बजार हिस्सा पनि घटेको छ। कुनै समय ६० प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको बुद्धको बजार हिस्सा अहिले ४६ को हाराहारीमा झरेको छ।
यसैगरी यतिको २३ प्रतिशत र श्रीको १७ प्रतिशतभन्दा बढी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।