काठमाडाैं- राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सले जापनकाे ओसाका छाडेर नारिता उडान भर्ने भएकाे छ।
एयरलाइन्सले यही मार्च २ देखि नारिता उडान भर्ने भएकाे हाे। सेक्टेम्बर १ देखि सातामा कहिले २ र कहिले ३ उडान गर्दै आएकाे नेपाल एयरलाइन्सले मार्च २ देखि ओसाका उडान बन्द गर्दै नारिता उडान गर्न लागेकाे हाे।
निगम स्राेतका अनुसार नेपाल एयरलाइन्सले ओसाका उडानमा झन्डै १५ कराेड रुपैयाँभन्दा बढी घाटा बेहाेर्ने छ। अहिलेसम्म १२ कराेड घाटा बेहाेरेकाे नेपाल एयरलाइन्सले अन्तिम उडानसम्म उक्त घाटा बेहाेर्ने भएकाे हाे।
नेपाल वायुसेवा निगमकाे सञ्चालक समितिबाट नारिता उडान गर्नुकाे सट्टा ओसाका उडान गरेकाे विषयमा विराेध भएकाे थियाे। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ६१औं वार्षिक उत्सव समाराेहमा सार्वजनिक रुपमा नै नारिता उडान नगरेर ओसाका उडान किन गरेकाे? भन्दै प्रश्न गरेका थिए। तर, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जापानकाे कन्ट्री म्यानेजर सन्ताेष पाण्डेलाई बनाउँदै उनकै मिलेमताेमा नारिता उडानकाे सट्टा ओसाका उडान गरेका थिए।
केही समय अगाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समेत अध्यक्ष खरेललाई मन्त्रालयमा बाेलाएर जापानले नारिता उडानमा अनुमति दिँदादिँदै किन हाम्राे याेजनामा नारिता उडान परेन भन्दै जवाफ पठाएकाे र ओसाका उडान गरेकाे? भनी प्रश्न गरेका थिए।
३२ उडानमा १० कराेड बढी घाटा
निगमले गत मंसिरसम्म ओसाकामा ३२ वटा उडान गरिसकेकाे छ। ओसाका उडानमा निगमलाई ग्राउण्ड ह्याण्डलिङ र स्टाफ खर्चबाहेक पनि १० कराेड ३ लाख २० हजार रुपैयाँ भन्दा बढी घाटा भइसकेकाे छ। निगमले प्रति फ्लाइट ३१ लाख ३५ हजार रुपैयाँका दरले घाटा भएकाे छ।
निगमकाे ओसाका उडानमा भदाैमा १८ प्रतिशत, असाेज र कार्तिकमा ५७ प्रतिशत र मंसिरमा ५० प्रतिशत अक्कुपेन्सीमा जहाज उडेकाे थियाे।
निगमकाे जापान उडानमा करिब ९९.५ टन इन्धन खपत हुने गरेकाे छ। निगमकाे इन्धनमा मात्रै १ कराेड ७ लाख २५ हजार रुपैयाँ खर्च हुने गर्दछ। ग्राउण्ड ह्यान्डलिङ, ओभर फ्लाइङ, ल्याण्डिङ, क्रियूलगायतमा ५० लाख रुपैयाँ खर्च हुने गरेकाे छ।
यस्तै हाेटल खर्च ५ लाख ६० हजार रुपैयाँ, पाइलट तथा क्रियूकाे अलाउन्समा ४ लाख रुपैयाँ खर्च हुने गरेकाे छ। निगमकाे एउटा फ्लाइटमा १ कराेड ६६ लाख ८५ हजार रुपैयाँ खर्च हुने गरेकाे छ।
एयरलाइन्सले सन् २००७ देखि जहाज अभावका कारणले बन्द गरेको ओसाका उडान १२ वर्षपछि गत अगस्ट २९ मा पुनः सुरु गरेको थियाे । नेपाल एयरलाइन्सले जुलाई ४ मै पहिलो नियमित उडान गर्ने भनेको भए पनि २६ दिनपछि मात्रै उडान गरेको थियाे। जुलाई ४ मा भने निगमले यात्रु नपाएको भन्दै उडान तालिका सारेको थियो।
जुलाईमा उडान गर्न खोज्दै गर्दा २ सय ७४ सिट क्षमताको वाइडबडीले पर्याप्त मात्रामा यात्रु नपाएको भन्दै उडान तालिका सारेको एयरलाइन्सले ३५ प्रतिशत मात्रै अकुपेन्सीमा पहिलो उडान गरेको थियाे। खरेलले निगमको कार्यकारी अध्यक्ष भएर आएको वर्ष दिनसम्म कुनै काम देखाउन नसके पनि प्रधानमन्त्रीको इच्छाभन्दा पनि बाहिर गएर तामझामका साथ ओसाका उडान सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।