काठमाडौं- कार्यालय परिसरभित्र कुटाकुट गर्ने औद्योगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टीकरण लिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उक्त घटनालाई मन्त्रालयले गम्भीरताका साथ लिएको र आवश्यक छानबिन गरी कारबाही गरिने बताए।
‘मन्त्रालयले उहाँहरु दुवैजनालाई बोलाएर स्पष्टीकरण लिएको छ। हिजो उद्योग राज्यमन्त्रीसँग राखेर उहाँहरुको कुरा सुनियो। दुवैजनालाई व्यक्तिगत रुपमा मैले पनि भेटें। फेरि बोलाउने भनेका छौं,’ मन्त्री भट्टले भने।
लिमिटेडका अध्यक्ष र महाप्रबन्धकबीच उमेरहदको विषयलाई लिएर गत बुधबार कार्यकक्षमै हात हालाहाल भएको थियो। महाप्रबन्धक सिटौलाको उमेरहदका विषयमा दुई जनाबीच लामो समय देखिएको मनमुटाव बुधबार हात हालाहालको अवस्थामा पुगेको हो। अध्यक्ष बस्नेतले सिटौलालाई पदमा बसिरहन उनको उमेरले नदिने भन्दै राजीनामा दिन र पदमुक्त हुन लिखित पत्र पठाएका थिए। तर महाप्रबन्धक बस्नेतले भने आफू अध्यक्षले भन्दैमा पदमुक्त नहुने र आफू कानुनी रुपमा पदमा बसिरहन पाउने भन्दै बुधबार पनि कार्यालय गएका थिए।
सिटौला कार्यालयमा गएपछि अध्यक्ष बस्नेतले हस्तक्षेप गरे र हात हालाहालको स्थिति बनेको थियो। सो विषयमा मन्त्रालयले स्पष्टीकरण लिएको र के भएको हो भन्ने विषयमा विस्तृत अध्ययन गर्ने मन्त्री भट्टको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।