काठमाडौं– चिनियाँ सवारी उत्पादकहरु भारतीय बजारमा आकर्षित हुन थालेका छन्। बढ्दो सवारी बजारलाई ‘क्यास’ गर्ने उद्देश्यले चिनियाँ सवारी उत्पादक भारत प्रवेश गरेका हुन्।
उनीहरु भारत प्रवेश गर्नुको अर्को लक्ष्य हो– भारतलाई आधार बनाएर उदीयमान एसियाली बजारमा आफ्नो उत्पादन लिएर जानु। चिनियाँलाई भारत प्रवेश गर्नासाथ सवारी उत्पादन गरि बजारमा ल्याउने आधार जनरल मोटर्सले दिएको छ।
भारतीयहरुले चिनियाँ सवारीमा विश्वास गर्ने आधार नदेखेपछि स्थानिय सवारी उत्पादकसँग साझेदारी गर्ने वा अन्तर्राष्ट्रिय ब्रान्ड खरिद गरेर चिनियाँहरु तेस्रो बजारमा प्रवेश गर्ने रणनीतिमा रहेको देखिन्छ।
केही वर्षअघि चीनको सांघाईमा रहेको एसएआइसी मोटर कर्पोरेसन लिमिटेडले बेलायती सवारी उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) खरिद गर्यो। बेलायती ब्रान्ड एमजी मोटर्समार्फत् चिनियाँ कम्पनी एसएआइसीमार्फत् भारतीय बजारमा प्रवेश गरेको हो।
कम्पनीले २०१७ मा भारतबाट औपचारिक रुपमा प्लान्ट बन्द गरेर गएको अमेरिकी मोटर उत्पादन कम्पनी जनरल मोटर (जिएम) को प्लान्ट खरिद गर्नु उपयुक्त विकल्प देख्यो।
जिएमको बहिर्गमनले खोलेको ढोका
अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटर्स (जिएम) ले भारतीय बजारमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरि बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण सन् २०१७ मा जिएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआइसी भारत प्रवेशका लागि सहज वातावरण बनेको हो।
एसएआइसीले जिएमको गुजरातमा रहेको हालोल प्लान्ट खरिद गरेको थियो। एसएआइसीका लागि नयाँ प्लान्ट स्थापना गरि सवारी उत्पादन गर्न समय लाग्ने थियो। तर जिएमको तयारी प्लान्ट खरिद गरेकै कारण २०१९ मै एमजी मोटरले भारतबाट अत्याधुनिक सुविधा सहितको पहिलो एसयुभी हेक्टर बजारमा ल्याइसकेको छ। एसएआइसीले भारतीय बजारमा एमजी ब्रान्डलाई विशेष प्राथमिकता दिने नीति लिएको छ।
जिएमको उक्त प्लान्ट खरिदका लागि एसएआइसीको पूर्ण स्वामित्व रहेको एमजी मोटर इन्डियाले २ हजार करोड भारु खर्चेको थियो। एसएआइसी पछि ग्रेटवाल मोटर्सको प्रवेश चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले पनि भारत प्रवेशको घोषणा यसअघि नै गरिसकेको छ। गत वर्षदेखि नै कम्पनी भारतमा उत्पादन प्लान्ट स्थापना गर्न उपयुक्त स्थानको खोजीमा थियो। भारतमा बढ्दो सवारी बजार र भारतलाई आधार बनाएर तेस्रो देशमा सवारी निर्यात गर्ने लक्ष्यले चिनियाँ कम्पनीहरु भारततर्फ आकर्षित भएका हुन्।
ग्रेटवाल मोटर्सले भारतको महाराष्ट्रमा रहेको जनरल मोटर्सको प्लान्ट खरिद गर्ने छलफल अन्तिम चरणमा पुगेको छ। कम्पनीले उक्त प्लान्ट २ सय ५० देखि ३ सय मिलियन अमेरिकी डलरमा खरिद गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। ग्रेटवाल मोटर्स भारतमा २०२० को फेब्रुअरीमा हुने अटो एक्स्पो २०२० बाट औपचारिक रुपमा प्रवेश गर्दै छ। त्यसैलाई मध्येनजर गर्दै ग्रेटवाल मोटर्सका ग्लोबल चेयरम्यान वी जियानजुनले दुई साताअघि भारत भ्रमण गरेका थिए।
ग्रेटवाल मोटर्सले जिएमसँग खरिद सम्झौता टुंगिए भारतीय प्लान्टबाट अर्को वर्ष अर्थात २०२१ भित्रै सवारी उत्पादन गरि बजारमा ल्याउने लक्ष्य लिएको छ। ग्रेटवाल मोटर्सको भारतमा लगानी योजना भारत सवारीको ठूलो बजार भएको र भारतलाई आधार बनाएर वरपरका देशलाई लक्षित गर्दै चिनियाँ सवारी उत्पादक कम्पनीले लगानी बढाएको द इकोनोमिक टाइम्सले लेखेको छ।
चीनको सबैभन्दा ठूलो एसयुभी उत्पादक ग्रेटवाल मोटर्सले भारतमा सवारी उत्पादन प्लान्टमा करिब ७ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। ग्रेटवाल मोटरले भारतमा सहायक कम्पनी हाभाल मोटरमार्फत् उक्त लगानी गर्ने भएको छ। सो कम्पनी गुणगाउँमा गत अक्टोबरमा स्थापना भएको हो। यो कम्पनी भारत सरकारले दिएको कर्पोरेट कर छुट (१५ प्रतिशत) पाउन योग्य नभएको समाचारमा उल्लेख छ। छुट नपाउँदा भारतमा कर्पोरेट करको दर १७.०१ प्रतिशत छ।
भारतमा प्रवेश गर्ने निश्चित भएको ग्रेटवालले नयाँ प्लान्ट स्थापना गरेर सवारी उत्पादन गर्ने हो भने त्यसका लागि लामै समय लाग्छ। तर तयारी अवस्थामा रहेको प्लान्ट खरिद गर्दा कम्पनीले एक वर्ष वा त्योभन्दा केही बढी समयमै सवारी उत्पादन गरि बजारमा प्रवेश गर्न सक्छ।
स्थानीय साझेदार अन्य कम्पनी
केही समयअघि चिनियाँ सवारी उत्पादक कम्पनी फोटोन मोटर्सले भारतमा प्लान्ट स्थापनको घोषणा गरिसकेको छ। त्यस्तै चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बिवाइडी मोटर्सले पनि भारतमा स्थानीय साझेदार गोल्ड स्टोनसँग मिलेर इलेक्ट्रिक बस उत्पादन गरिरहेको छ।
अन्य चिनियाँ कम्पनी पनि भारत प्रवेशका लागि उपयुक्त साझेदार तथा समय पर्खिरहेको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
नेपालमा कस्तो प्रभाव?
नेपाली बजारमा चिनियाँ सवारी बिक्री नभएका होइनन्। आधा दर्जनभन्दा बढी ब्रान्डका सवारी बिक्री भएको थियो। व्यवसायीले १ पटक सवारी आयात गर्ने र त्यसका लागि आवश्यक पार्टपुर्जासमेत नल्याउने गरेकाले हाल नेपाली बजारमा चिनियाँ सवारी निक्कै कममात्र उपलब्ध छन्।
बिवाइडी साइमेन्स कम्पनी र फोटोन एमएडब्लू वृद्धिले उपलब्ध गराँदै आएको छ। विगतमा जोते, चेरी, ग्रेटवाललगायत विभिन्न ब्रान्डका प्यासेन्जर कार बिक्री हुँदै आएको थियो। आधिकारिक बिक्रेता नहुनु, स्पेयर पार्टन नहुनुलगायत कारणले नेपाली उपभोक्तामा चिनियाँ सवारीप्रति विश्वास गुम्दै गएको थियो। तर पछिल्लो समय भने ठूला व्यावसायिक घरानाले आधिकारिक बिक्रेतासहित चिनियाँ सवारी ल्याउन थालेका छन्।
भारतीय बजारमा एसआइएसीले एमजीका सवारी उत्पादन गर्ने र नेपाल ल्याउन थालेपछि त्यसको बजार विस्तार हुने अनुमान गरिइएको छ। हाल नेपाली बजारमा एमजीका गाडी चीनबाट आयात हुँदै आएका छन्।
पारामाउन्ट मोटर्सले आयात गर्दै आएको एमजीका गाडी भारतमै उत्पादन भएपछि ल्याउँदा तुलनात्मक रुपमा सस्तो हुने र विश्वसनीयतासमेत बढ्ने विश्वास कम्पनीको छ। हाल भारतमा एमजीको हेक्टरमात्र उत्पादन भइरहेको छ। यसैवर्षभित्र कम्पनीले भारतमा अन्य उत्पादनसमेत थाल्ने तयारी गरिरहेको छ।
जापानी र कोरियन कम्पनीलाई टक्कर
जापानी कार उत्पादकको छत्रछायाँ रहेको भारतीय कार बजारमा अब भने परिदृश्य फेरिँदै गएको छ। विगतमा जापानी कार उत्पादक मारुती सुजुकी, होन्डा, टोयोटा किर्लोस्करको ठूलो बजार हिस्सामात्र थिएन, उपभोक्ताको विश्वासको ब्रान्ड पनि थियो। भारतीय बजारमा जापानी कार उत्पादक कम्पनी सुजुकीले साझेदारी गरेर कार उत्पादन थालेयता मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार उत्पादकको रुपमा रहँदै आएको छ।
यस्तै अर्को जापानी कम्पनी टोयोटाले पनि भारतमा स्थानीय साझेदारसँगको समन्वयमा टोयोटा किर्लोस्करका नाममा उत्पादन गर्दै आएको छ। केही समयअघिसम्म प्रिमियम ब्रान्डको रुपमा टोयोटाका कार उल्लेख्य बिक्री थियो। हाल टोयोटाको बिक्रीमा कमी आएसंगै केही मोडलमा मारुती सुजुकीसँग समन्वय गरेर टोयोटाले कार बिक्री गरिरहेको छ। त्यस्तै जापानी कम्पनी होन्डाको उपस्थिति पनि भारतीय बजारमा राम्रो रहेको छ।
कोरियाली कम्पनी हुन्डाई २००२ मै भारत प्रवेश गरेको थियो। त्यस्तै हुन्डाईको अर्को ब्रान्ड कियासमेत अहिले भारतमा प्लान्ट नै स्थापना गरेर आक्रामक बजार बिस्तारमा लागेको छ। नयाँ कार उत्पादकहरुले परम्परागत मोडलका कार भन्दा परिस्क्रित मोडल उत्पादनमा जोड दिएका छन्। तर अब भने भारतीय कार बजारमा नयाँ अवस्था देखिएको छ।
चिनियाँ कार उत्पादक कम्पनी आक्रामक रुपमा भारतीय बजारमा प्रवेश गरेका छन्। जसको प्रत्यक्ष प्रतिस्पर्धा जापानी कम्पनी र लोकप्रियताको उचाइ उक्लँदै गरेको कोरियाली कम्पनीसँग हुनेछ। चिनियाँ कम्पनीले नयाँ परिवेशअनुसार इलेक्ट्रिक सवारी उच्च प्राथमिकतामा राखेका छन्।
विगतमा ह्याचब्याक, सेडान र एसयुभी कार उत्पादन हुन्थ्यो। तर अहिले क्रसओभर, कम्प्याक्ट सेडान, कम्प्याक्ट एसयुभी, माइक्रो एसयुभी, कुपेलगायत विभिन्न मोडलका कार उत्पादन हुन थालेका छन्। पछिल्लो समय संसारभरका उपभोक्ताको रोजाईमा कम्प्याक्ट एसयुभी नै हुने गरेको छ। चिनियाँ कम्पनीहरु भारतीय कम्पनीसँगको सहकार्यमा प्रवेश गरिरहेका छन्। एसएआइसीले भारतमा एमजी हेक्टर उत्पादन गरि बजारमा उदाइसकेको छ। त्यस्तै कियाले पनि सेल्टोस कार बजारमा उतारिसकेको छ।
२०१८ मा भारतीय बजारमा चिनियाँ कारको हिस्सा १६ प्रतिशत रहेकोमा २०२२ सम्ममा यो बढेर चौथो स्थानमा पुग्ने अनुमान गरिएको द इकोनामिक टाइम्सले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।