काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाइ विश्वका विभिन्न देशमा उडान गर्ने नेपाली वायुसेवा कम्पनीहरुको बजार हिस्सा बढेको छ। सन् २०१८ को तुलनामा २०१९ मा नेपाली वायुसेवा कम्पनीको बजार हिस्सा (यात्रु हिसाबमा) झन्डै ६ प्रतिशतकाे विन्दुले बढेको हो।
२०१८ को कुल हवाई यात्रुको संख्यामा नेपाली वायुसेवा कम्पनीहरुको बजार हिसा १६ दशमलब ५९ प्रतिशत थियो। यो हिस्सा बढेर २२ दशमलब ३८ प्रतिशत पुगेको छ। समग्रमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटे पनि नेपाली वायुसेवा निगम र बुद्ध एयरलाइन्सको यात्रु संख्या भने बढेको छ। तर, हिमालय एयरलाइन्सका यात्रु भने घटेका छन्।
विमानस्थल कार्यालयका अनुसार सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ४१ लाख ३८ हजार ५ सय ६३ छ। जुन सन् २०१८ को तुलनामा २ लाख ४ हजार भन्दा कम हो। २०१८ मा त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुको संख्या ४३ लाख ४२ हजार ९ सय ९९ सय थियो।
विमानस्थलको रन–वे पिच परिर्वतनका समयमा भएको उडान कटौती, भारतीय जेट एयरवेजको उडान बन्द र मलेसियाको श्रम रोजगारीमा देखिएको समस्याका कारण अन्तर्राष्ट्रिय हवाई यात्रु घटेको नेपाल नागरिक उड्डयन प्रात्रिकरण महानिर्देशक राजन पोखरेलले बताए। सम्रगमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि नेपाली वायुसेवा कम्पनीहरु नेपाल एयरलाइन्स र बुद्ध एयरको भने हवाई यात्रु बढेको उनले बताए।
बुद्ध एयरले भारतको वनारस र कोलकातामा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। तर, अर्को नेपाली वायुसेवा कम्पनी हिमालयको भने यात्रु घटनुको प्रमुख कारण भने मलेसियाको रोजगारीमा देखिएको समस्या हो। मलेसियाको रोजगारीमा समस्या आएपछि हिमालयले मलेसिया उडान नै बन्द गरेको छ। सन् २०१९ मा भिभिआइपी र नन् सेड्युल उडानसहित ३० भन्दा बढी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३२ हजार ४ सय ३९ वटा उडान तथा अवतरण भएका छन्। यो संख्या पनि सन् २०१८ को तुलनामा कम हो। उक्त वर्ष कुल ३३ हजार ९ सय ३१ वटा उडान तथा अवतरण भएका थिए। साथै २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न देश जानेको संख्या २२ लाख ४५ हजार १ सय ३७ थियो भने नेपाल प्रवेश गर्नेको संख्या १८ लाख ९३ हजार ४ सय २६ रहेको छ। सन् २०१८ मा भने विमानस्थल हुँदै बाहिरिनेको संख्या २१ लाख ६८ हजार ६ सय १५ र भित्रिनेको संख्या २१ लाख ७४ हजार ३ सय ८४ थियो।
नम्बर एकमा नेपाल एयरलाइन्स
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी एयरलाइन्समध्ये सबैभन्दा बढी यात्रु बोक्ने कम्पनीमा नेपाल एयरलाइन्स परेको छ। सन् २०१६ मा नम्बर एकमा परेको नेपाल एयरलाइन्स २०१७ मा भने तेस्रो नम्बरमा थियो। सन् २०१८ मा फेरि निगम बढी यात्रु बोक्ने सूचीमै परेको थियो।
सन् २०१८ मा कुल ४ लाख ९१ हजार ९ सय ७९ यात्रु बोकेको नेपाल एयरलाइन्सले २०१९ मा कुल ७ लाख ३५ हजार ८ सय ३५ यात्रु बोकेको छ। सन् २०१९ मा नेपाल एयरलाइन्सले बोकेको हवाई यात्रु कुल हवाई यात्रुको १७ दशमलब ८ प्रतिशत हो।
यसैगरी हिमालय एयरलाइन्सले २०१९ मा १ लाख ७६ हजार ३ सय ९२ यात्रु बोकेको छ। यो संख्या कुल हवाई यात्रुको ४ दशमलब २६ प्रतिशत हो। तर, हिमालयको हवाई यात्रु २०१८ को तुलनामा भने कम हो। २०१८ मा हिमालयल एयरलाइन्सले २ लाख २४ हजार १ सय ५३ यात्रुलाई सेवा दिएको थियो। यसैगरी भारतको बनारस र कोलकाता उडान गर्दै आएको बुद्ध एयरले पनि सन् २०१९ मा १४ हजार २ सय ३ यात्रुलाई सेवा दिएको छ। बुद्धको यात्रु संख्या सन् २०१८ को भन्दा बढी हो। सन् २०१८ मा बुद्धले ४ हजार ३ सय ९६ जना यात्रुलाई सेवा दिएको थियो।
नेपाल एयरलाइन्सले अहिले २ वटा वाइडबडी र २ न्यारोबडीमार्फत् अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। २०१९ मा ३ वटा स्वदेशी एयरलाइन्स कम्पनीले मात्रै ९ लाख २६ हजार ४ सय ३० यात्रुलाई हवाई सेवा दिएका छन्। यो संख्या सन् २०१८ मा ७ लाख २० हजार हाराहारीमा थियो। यसैगरी दोस्रो बढी हवाई यात्रु बोक्ने कम्पनीको सूचीमा कतार एयरवेज परेको छ।
कतार एयरवेजले २ हजार ७ सय ३२ वटा उडान तथा अवतरण गर्दै ४ लाख ६२ हजार ३९ यात्रुलाई सेवा दिएको छ। यसैगरी तेस्रो बढी हवाई यात्रु बोक्नेमा फ्लाई दुबई छ। फ्लाई दुबईले १ हजार ९ सय १० उडान तथा अवतरणमार्फत् २ लाख ७४ हजार ६ सय ८८ यात्रुलाई हवाई सेवा दिएको छ। यसैगरी चौथोमा एयर इन्डियाले २ लाख ५५ हजार ५८ र पाँचौमा रहेको एयर अरेबियाले २ लाख २८ हजार ९ सय २९ हवार्ई यात्रुलाई सेवा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।