काठमाडौं- आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकर खरिदका लागि अघि बढाएको प्रक्रिया रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई लगातार ८ पटकसम्म स्थगित भयो।
मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट सञ्चालक मनोहरराज घिमिरेले दायर गरेको रिटमाथि सुनुवाईका लागि पटकपटक पेशी तोकिए पनि कहिले हेर्न नमिल्ने बेन्चमा पर्यो त कहिले बेन्च नै बस्न भ्याएन।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलाशमा मुद्दा तोकियो। मुद्दाको सुनुवाई प्रक्रियामा पक्ष अर्थात घिमिरे र विपक्षी अर्थात् सरकारका अतिरिक्त तेस्रो पक्ष पनि देखियो। अर्थात् शिशिर नहाटाका तर्फबाट तेस्रो पक्ष बहसमा देखिए अधिवक्ता गोविन्द बन्दी।
'अहिले उहाँहरु जुन मुद्दा लडिरहनु भएको छ, त्यसमा हाम्रो पनि सरोकार र चासो छ भनेर तेस्रो पक्षका रुपम मुद्दामा प्रवेश गरिएको हो,' अधिवक्ता बन्दीले नेपाल लाइभसँग भने, 'मैले जुन मुद्दा हेरिरहेको छु, त्यसो प्रक्रियाका लागि सक्षम र योग्य समूहको मुद्दा हो यो।'
मिराज प्रिन्टिङ र सरकार लडिरहेको मुद्दामा नहाटाको कम्पनी स्प्रिन्ट प्रिन्टर्सको तर्फबाट बन्दी अघि देखिएका हुन्। यो समूहले ललितपुरमा समा प्रिन्टर्स सञ्चालन गरिरहेको छ। उनीहरुले पत्रपत्रिकादेखि अन्य वस्तुहरु छपाइको काम गरिरहेको छ।
आइतबार बहसका क्रममा न्यायाधीश भट्टराईले सरकारी वकिललाई सोधेका थिए, तपाईंहरुले सबै प्रक्रिया पुरा गरेर ग्लोबल टेण्डर गर्नुभएको हो?
सरकारी वकिलले जवाफ दिए: लिखित जवाफमा सबै कुरा छ।
सरकारी वकिलको प्रश्नपछि बन्दीको प्रवेश भयो। त्यसपछि न्यायाधीश भट्टराईले यो मुद्दालाई अग्राधीकार दिइएको भन्दै १५ दिनपछि पुन: सुनुवाई हुने जानकारी गराउँदै बहस रोके।
घिमिरेले कात्तिक २९ गते दायर गरेको रिटको प्रारभ्मिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अल्पकालीन अन्तरिम आदेश दिँदै प्रक्रिया रोक्न भनेका थिए। त्यसयता रोकिएको प्रक्रिया अदालतकै कारण अघि बढ्न सकेको छैन।
आन्तरिक राजस्व विभागले असोज १३ गते ४५ दिनको समायावधि दिँदै अन्त:शुल्क स्टिकर किन्न अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो। सुरक्षण मुद्रण उद्योगबाट छापिने स्टिकर खरिदका लागि स्वेदशी उद्योग योग्य नभएको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त गरेको भन्दै विभागले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।