भैरहवा- सरकारले नेपालमा २० लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ। आवश्यक तयारी र पूर्वाधारको अभावका कारण सरकारको लक्ष्य पूरा हुनेमा भने आशंका छ।
पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउने र विकास गर्ने लक्ष्यसहित भ्रमण वर्ष २०२० को शुभारम्भ गरे पनि सरकारले अझै पूर्वाधार निर्माणमा ध्यान पुर्याउन सकेको छैन। पूर्वाधार अभावकै कारण पर्यटक आवागमन पनि घट्दै गएको छ।
रुपन्देहीको बेलहिया नाकाबाट पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक नेपाल भित्रने गरेका छन्। तर, बेलहिया नाकाको दुर्दशाका कारण लुम्बिनी घुम्न आएका पर्यटक नाकाबाटै फर्किने हुन कि भन्ने चिन्ता बढ्दो छ। सरकारले भ्रमण वर्षको भव्य शुभारम्भ गरे पनि बेलहिया नाकामा भ्रमण वर्षको खासै रौनकता छैन।
पर्यटकलाई भिसा लगाउनै समस्या भएकाे छ। सहज व्यवस्थापन, भिसा लगाउनजेल बस्ने ठाँउको अभाव, राम्रो र सुविधासम्पन्न शाैचालय, यातायातलगायत अन्य सुविधाको अभावका कारण पर्यटकले नेपाल प्रवेश गर्ने बिन्दुबाटै असहजता खेप्नु परेको छ।
नाकामा रहेको पर्यटक सूचना केन्द्रको अवस्था पनि बेहाल छ। धुलोले पर्यटक अध्यागमनमै आतिन्छन्। उनीहरु नाक थुनेर भिसा फारम भर्न बाध्य छन्। जताततै फोहोर, सवारीको चाप र ध्वनी प्रदूषणले पर्यटकलाई समस्या पार्ने गरेकाे छ।
'भारतलगायत तस्रो मुलुकबाट नेपाल आएका पर्यटक नाकाको अवस्थामा देखेर आत्तिन्छन्,’ ट्याक्सी चालक ध्रुव चौधरीले भने, ‘यहाँको अवस्था देखेर पर्यटक एकछिन् पनि रोकिन खोज्दैनन्।’
बेलहिया-बुटवल सडकखण्ड अन्तर्गत बेलहियामा अहिले सडक निर्माणको चटारो छ। निर्माणधिन सडकखण्डले नाकाको अवस्था झनै बेहाल बनाएको छ। सडक किनारका हरिया बोट-बिरुवा र घर धुलोले भरिएका छन्। धुलोले पीडित स्थानीयले केही महिना अघि नाकामा चक्काजाम समेत गरेका थिए। ठेकेदारको लापरवाहीका कारण स्थानीय र पर्यटकहरु पीडित बनेकाे बेलहियाका स्थानीय देवराज न्यौपानेले बताए।

‘बुङबुङती उड्ने धुलोले हिड्डुल गर्न र बजार गर्न निकै नै समस्या छ। सबैभन्दा धेरै पर्यटक आउने नाकाको अवस्था यस्तो हुँदा विश्वमाझ कस्तो सन्देश गएको होला?’ उनले भने, ‘सम्बन्धित निकायले नाकामा देखिएको समस्या समयमै समाधान गर्न ध्यान नदिए भ्रमण वर्षमा राम्राे सन्देश जाँदैन।’
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई भेटाउन सरकारले प्रत्येक दिन ५ हजार ४ सय ८० पर्यटक भित्रयाउनुपर्छ। तर, सरकारसँग कुन देशबाट कति पर्यटक आउने भन्ने अनुमानसमेत छैन। भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक महिनाको योजनाअनुसारको कार्यक्रम हुनेपर्नेमा संघीय र प्रदेश सरकारका मन्त्रीहरु भाषणमै सीमित छन्।
सहज छैन् लुम्बिनी पुग्न
प्रदेश पाँच सरकारले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भन्दै २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइरहेको छ। बेलहिया नाकाबाट वर्षेनी करिब डेढ लाखको हाराहारीमा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिने गरेका तथ्याङले देखाउँछ।
यस नाकाबाट आउने अधिकांश पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी दर्शन तथा भ्रमणका लागि आउने गर्दछन्। भौतिक पूर्वाधारको अभावका कारण पर्यटकहरुले समस्या भोग्नु परेको परेको छ। भ्रमण वर्षमा पर्यटकलाई लुम्बिनी पुग्न सहज छैन।
निर्माणधिन भैरहवा-लुम्बिनी-तौलिहवा सडकखण्डको धुलो र यत्रतत्र छरिएका निर्माण साम्रगीले कतिपय पर्यटक लुम्बिनी नै नपुगी फर्किने मनस्थितीमा पुग्ने गरेकाे पर्यटन व्यवसायिहरु बताउँछन्।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोले लुम्बिनीको यात्रा निकै कठिनपूर्ण हुन्छ। लुम्बिनी मार्गमा रहेको पुल पनि अलपत्र छ। संचालनमा रहेको जीर्ण पुलबाट एक पटकमा एउटा गाडी मात्र पास हुन सक्छ। साँघुरो र जीर्ण पुलका कारण जाम पनि हुने गरेकाे छ।
'लुम्बिनी पुग्नका लागि सडककाे राम्रो व्यवस्था रहेनछ,' लुम्बिनी घुम्न आएका लण्डनका पर्यटक क्रिस रिग्लेसफोर्डले नेपाल लाईभसँग भने 'निकै कठिन यात्रा गरेर लुम्बिनी आएपनि लुम्बिनी र बुद्धका बिषयमा प्रयाप्त जानकारी नपाउँदा झनै खिन्नता हुँदाे रहेछ।' लुम्बिनी शान्त छ। राम्रो पनि छ। तर, यहाँ गुम्बा र मन्दिरको अवलोकन गर्नु बाहेक केही देखिएन। गुम्बा र मन्दिरमात्र हेरेर कति दिन बस्नु उनकाे भनाइ छ।
लुम्बिनी भ्रमण वर्ष मनाइरहेका प्रदेश सरकार र संघीय सरकारसगँ पर्यटकको बसाई लम्ब्याउनका लागि खासै योजना पनि छैन। सरकारले भ्रमण वर्ष घोषणा गरे पनि पर्यटकको बसाई लम्ब्याउनका लागि कुनै योजना नल्याएको होटल व्यासायीहरु बताउँछन्।
अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले नाकाको अवस्थाका कारण पर्यटकले सास्ती खेप्नु परेको बताए। ‘धुलोले खुल्ला वातावरणमा बस्ने स्थिती छैन,’ उनी भन्छन्, ‘भिसा प्रक्रियाको कागज बुझाएर गाडीभित्रै बस्छन्।’ अध्यागमन कार्यलयमा प्रयाप्त बस्ने ठाँउको अभावमा गाडीमै गएर बस्न बाध्य भएको उनको भनाई छ।
लुम्बिनी आउने पर्यटकलाई थाहै हुँदैन अन्य बुद्धिष्ट साईट
बुद्ध जन्मस्थल लुम्बिनी आउने अधिकांश पर्यटकलाई बुद्धसँग सम्बिन्धत अन्य साईटको जानकारी नहुने गरेको पाइएको छ। लुम्बिनी भ्रमण र नेपाल भ्रमण बर्ष चलिरहेका बेला लुम्बिनी आएका पर्यटकलाई लुम्बिनीबाहेक बुद्धस्थल तिलौराकोट, देवदह, रामग्रामलगायत छिमेकीस्थलका बारेमा जानकारी नहुने गरेको पाइएको हाे।
लुम्बिनी आएका अधिकांश पर्यटकलाई बुद्धको घर तिलौराकोट, मावली देवदह र अष्टघातु रहेको राम्रगाम तथा बुद्धसँग सम्बन्धित क्षेत्र गोटिहवा, निग्लीहवा, कुदानको विषयमा कुनै जानकारी हुँदैन। ‘पर्यटकिय स्थलहरु कहाँ-कहाँ छन्? थाहा भएन,’ पर्यटक क्रिस रिग्लेसफोर्डले भने, ‘खुल्ला रुपमा कतै पूर्ण जानकारी राखिएको पाइन।’

मायादेवी मन्दिर अगाडी यी स्थलहरुको नाम र तस्बिर अंकित बोर्डमात्र राखिएको छ। जसमा पूर्ण जानकारी नहुदाँ पर्यटकहरु अनविज्ञ हुनु परेकाे हाे।
त्यस्तै इटालीकी एलेसस्याण्ड्राले पनि आफूलाई लुम्बिनी बाहेकका पर्यटकिय र बुद्धिष्ट साईटको बिषयमा कुनै जानकारी निभएको बताइन्। उनले लुम्बिनी निकै राम्रो र पवित्र भूमि रहेको बताइन्। उनले बालबालिकाले पर्यटकसगँ भिक्षा माग्नु राम्रो पक्ष नभएको उल्लेख गर्दै यसलाई सम्बन्धित निकायले रोक्नु पर्ने सुझाव दिइन्।
त्यस्तै रसियाका इभगेन माक्सिनले पाँच वर्षको अन्तरालमा लुम्बिनीमा खासै परिवर्तन नदेखेको बताए। आफ्नो बहिनी म्यारिना रोमानेन्कोको साथ भेटिएका उनले लुम्बिनीमा सोंचेअनुसारको सुविधा नभएको बताए। उनले लुम्बिनीमा खान, सुत्न र यातायातको निकै समस्या रहेको बताए। बाँस बसेको होटलमा हिटर, तातो पानीलगायतका सुविधा नरहेको उनकाे गुनासो छ।
गुम्बा र मन्दिर क्षेत्रमा सरसफाई रहे पनि बाहिर धेरै फोहोर रहेको माक्सिनले बताए। उनले सबै मिलेर लुम्बिनीलाई सफा राख्न आवश्यक रहेको सुझाव दिए। बुद्धसगँ सम्बन्धित अन्य स्थलहरु र भ्रमण वर्ष २०२० बारे आफूहरुलाई जानकारी नरहेको म्यारिना रोमानेन्कोले बताइन्।
लुम्बिनी आउनका लागि यातायातकाे व्यवस्था राम्रो नरहेको पर्यटकहरुको गुनासो छ। सडकको अवस्था पनि सुधार गर्नुपर्ने उनीहरुको सुझाव छ। लन्डनमा सेफको काम गर्ने रिग्लेसफोर्डले लुम्बिनी राम्रो रहेपनि यहाँ मूल्य अनुसारको खान, बस्नको सुविधा गुणस्तरीय नरहेको गुनासो गरे।
(1).jpg)
लुम्बिनीमा केही होटलहरु व्यवस्थित रहेपनि अधिकांश अव्यवस्थित छन्। होटल व्यवसायीहरुले चर्को मूल्य लिने गरेपनि त्यस अनुसारको सुविधा भने नदिने गरेको पर्यटकहरुको गुनासो छ।
यता, पर्यटन व्यवसायीहरुले लुम्बिनीमा पर्यटकहरुको बसाई लम्ब्याउन नसक्नुकाे दाेष सरकारमाथि लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।