काठमाडौं– नेपाललाई आश्रयस्थल बनाएर चीनमा अपराध गरेको आरोपमा पक्राउ गरेका १ सय २२ चिनियाँलाई आज (बुधबार) डिपोर्ट गरिँदैछ।
बुधबार साँझ ६ बजे चार्टर्ड दुई जहाज (चाइना इस्टर्न र चाइना साउद्रन) मार्फत् उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो।
चिनियाँ दूतावासले अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण र गृहमन्त्रालयलाई पत्राचार गर्दै दुइवटा चार्टर्ड विमानमा १ सय २२ चिनियाँलाई लैजाने उल्लेख गरेको थियो। सोही अनुसार बुधबार साँझ ६ बजे उनीहरुलाई डिपोर्ट गर्न लागिएको अध्यागमनका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको नेतृत्वमा पुस ७ गते काठमाडौं उपत्यकामा प्रहरीले अपरेसन गरेर १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो।
मनमैंजु, बुढानिलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले ८ महिलासहित १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये ६७ जनाको मात्रै राहदानी फेला परेको थियो। उनीहरूका साथबाट प्रहरीले ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो।
पक्राउ परेका चिनियाँविरुद्ध नेपाल प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन र १० दिन गरी दुई पटक म्याद थप गरेकोमा गत आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जनही १ हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए।
त्यसपछि प्रहरीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो। चीनकै आग्रहमा पक्राउ परेका उनीहरुलाई अध्यागमनमार्फत् बुधबार डिपोर्ट गर्न लागिएको हो ।
पक्राउ परेका चिनियाँमाथि नेपाललाई आश्रयस्थल बनाएर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइनमा अश्लील सामग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काममा संलग्न भएको आरोप छ ।
सम्बन्धित समाचार
१२२ चिनियाँलाई जनही १ हजार जरिवाना
अपरेसन 'चार्ली फोक्टर', कसुर शून्य
संदिग्ध चिनियाँमाथि फितलो अनुसन्धान, विना अनुगमन कसरी सञ्चालन भए अर्बौं लगानीका कार्यालय?
चिनियाँविरुद्धको फितलो अपरेसन, करिब २ सय चिनियाँ फरार भएपछि रित्तो घरमा छापा
‘कमेडी प्रेस मिट'मा आइजीको प्रशंसा, एनसिबीलाई धन्यवाद!
पक्राउ परेका चिनियाँमाथि अनुसन्धान गर्न १० दिन म्याद थप
पक्राउ परेका १२० चिनियाँलाई ५ दिनको म्याद थप
१ सय २२ जना चिनियाँ नागरिक पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।