नयाँ दिल्ली (एजेन्सी)- टाइगर श्राफ अभिनीत एक्सनले भरपूर फिल्म 'बागी २' ले भारतको बक्स अफिसमा यतिबेला कब्जा जमाइरहेको छ।
फिल्मले पहिलो दिनमै २५ करोड १० लाखको व्यापार गर्दै सन् २०१८ मा ग्रान्ड ओपनिङ गर्ने 'पद्मावत' को कीर्तिमान तोडेको थियो। पहिलो दिनको कमाइमा 'बागी २' ले 'बाहुबली: द कन्क्लुजन' र सलमान खानको 'टाइगर जिन्दा हे' लाई समेत पछाडि पारिदिएको छ।
बलिउडमा अहिलेसम्मकै बढी कमाउने फिल्म 'बाहुबली: द कन्क्लुजन' (२०१७)' ले देश-विदेशमा व्यापारको कीर्तिमान बनाएको थियो। रिलिजको दिन सो फिल्मले बिहार राज्यमा एक करोड ८० लाखको सानदार व्यापार गरेको थियो भने 'टाइगर जिन्दा हे' ले पहिलो दिनमा एक करोड १० लाख कमाएको थियो। यी दुवै फिल्मको कारोबारलाई पछाडि पार्दै 'बागी २' बिहारमा ओपनिङमा सबैभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ। फिल्मले १ करोड २८ लाख रुपैयाँ बटुलेको बक्स अफिसको तथ्यांक छ।
शुक्रबार रिलिज भएको 'बागी २' पहिलो दिन सबैभन्दा धेरै कमाउने १४औं बलिउड फिल्म बनेको छ। सलमानको फिल्म 'किक' लाई तल धकेल्दै फिल्मले सो स्थान ओगटेको हो।
सन् २०१६ मा आएको फिल्म 'बागी' मा श्रद्धा कपुरसँग रोमान्स गरेका टाइगरले सिक्वलमा भने दिशा पटानीसँग जोडी बाँधेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।