नयाँ दिल्ली (एजेन्सी)- एक्सन हिरो टाइगर श्राफले 'बागी २' मा आफ्नो प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्। फिल्मले रिलिज भएसँगै बक्स अफिसमा बलियो प्रभाव देखाएको छ। पहिलो दिनमै दर्शकको थामिनसक्नुको भीड बक्स अफिसमा देखियो। 'बागी २'ले २०१८ को अहिलेसम्मकै भव्य ओपनिङ गर्ने 'पद्मावत' को कीर्तिमान तोडिदिएको छ।
'बागी २' ले पहिलो दिन गरेको कमाइले यो फिल्म सुपरहिट हुनसक्छ भन्ने छनक दिएको छ। बलिउडका व्यापार विश्लेषक रमेश बालाले ट्विटरमा फिल्मले बक्स अफिस कलेक्शनबारे जानकारी दिएका छन्।
उनका अनुसार, 'बागी २' ले पहिलो दिन भारतमा गजब सुरुवात गरेको छ। पहिलो दिनमै २५ करोड कमाउँदै २०१८ मा पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको छ। यसअघि 'पद्मावत' पहिलो दिनमा १९ करोड कमाउँदै शीर्ष स्थानमा थियो।
विश्लेषक बालाले यो सप्ताहन्तको बाँकी दुई दिनमा फिल्मले ५० करोड सजिलै कमाउने आकलन गरेका छन्।
'बागी २' मा टाइगर र दिशा पटानीको केमिस्ट्रीसँगै एक्सन र नृत्यको खिचडी हेर्न पाइन्छ। 'बागी २' २०१६ मा आएको 'बागी' को सिक्वल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।