काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताएका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने बताए।
‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभूति गर्नेगरी तपाईंहरुले काम गर्नुहोस्’, ओलीले भने, ‘यसपाली हामीले सरकारका अधिकारको बाँडफाँटको नयाँ अभ्यास गरेका छौं। यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ।’
स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकाले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्षभन्दा मुनिका, एक चौथाइ अध्यक्ष ४० वर्षभन्दा कम उमेर समूहका छन्। ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन्। यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त?'
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिए। भ्रष्टाचार, कुशासन जस्त कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन, नजिकबाट हेर्दा पनि दाग नदेखियोस्।’
प्रधानमन्त्री ओलीले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा गरिने बताए।
सरकारले कर्मचरी समायोजनको काम अघि बढाइसकेकाले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधनमन्त्रीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।