गाजा– गाजा क्षेत्रमा प्यालेष्टाइनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि मृत्यु हुने प्यालेष्टाइनीको सङ्ख्या शनिबार १५ पुगेको छ।
प्यालेष्टाइनी स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबीच भएका झडपमा परी १५ जना प्यालेष्टाइनीको मृत्यु भएको छ। अन्य १ हजार ४ सयभन्दा बढी घाइते भएका छन्।’
६ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टाइनी समूह शुरुमै गाजा र इजरायलको सीमा छुट्टयाइएको सीमापर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि झडप भएको हो। झडपमा ठूलो सङ्ख्यामा प्यालेष्टाइनी प्रदर्शनकारी घाइते बनेका हुन्।
सो क्रममा इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फायर’ द्वारा आक्रमण गरेको थियो। प्यालेष्टाइनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टीलका गोली तथा अश्रुग्यासको असरले प्रभावित भएको जनाइएको छ।
झण्डै आधा घण्टाको समयमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो। तर इजरायली सीमा सुरक्षा बलले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्य भएर दङ्गा नियन्त्रणको उपाय अवलम्बन गरेको र केही राउण्ड गोलीसमेत चलाइएको हो।’
राष्ट्रसंघ प्रमुखद्वारा अनुसन्धानका लागि आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुथ्रेसले शुक्रबार गाजा क्षेत्रमा भएको हिंसात्मक झडपबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेको उनका सहप्रवक्ता फारहन हकले एक विज्ञप्ति जारी गरी उल्लेख गरेका छन्।
‘यस दुःखद घटनाले प्यालेस्टाइनीनी र इजरायली नागरिकले शान्तिपूर्ण तथा सुरक्षित भएर बाँच्न पाउने वातावरणको सिर्जना गर्न सार्थक वार्ता गरी इजरायल प्यालेस्टाइनबीच शान्ति प्रक्रियाको आवश्यकतालाई थप जोड दिएको छ,’ गुथ्रेसले भने। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।