धनगढी– प्रदेश ७ मा छलफलका विषय केही नभएपछि तोकिएको २ पटकको प्रदेशसभा बैठक स्थगन गर्नुपरेको छ।
बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए।
‘आर्थिक मामिला मन्त्रालयबाट विधेयक आउँछ भन्ने सूचनाका आधारमा बैठक बस्ने मिति तोक्ने गरिएको हो’, शर्माले भने, ‘तर सम्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न भइरहेको ढिलाइले मिति स्थगन गर्नुपरेको छ।’
समयमै विधेयक दर्ता हुन नसक्दा प्रदेशसभाको यही चैत १५ गतेका लागि तोकिएको बैठक स्थगन गर्नुपरेको थियो। स्थगित बैठक आज बस्ने भनिएकोमा आज पनि पुनः स्थगन हुने जनाइएको छ। आगामी बैठक चैत २० गतेका लागि तोकिएको सचिव शर्माले जानकारी दिए।
बिहीबार साँझ मात्र प्रदेशसभा आर्थिक कार्यविधि ऐन सचिवालयमा दर्ता गरिएको छ। प्रदेशसभा नियमावलीका अनुसार सरकारी विधेयक दर्ता भएको पाँच दिनपछि र गैरसरकारी विधेयक दर्ता भएको सात दिनपछि मात्र प्रदेशसभाको बैठकमा छलफलका लागि लैजानुपर्ने हुन्छ।
प्रदेशसभा बैठकले अहिलेसम्म प्रदेशसभा नियमावली २०७४ लाई मात्र पारित गर्न सकेको छ। चाहिने नियम कानून समयमै नबनेका कारण प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको बताइएको छ। नेपालको संविधानको अनुसूचीले तोकेका विषयमा कानून बनाउने अधिकार प्रदेशसभालाई छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।