काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व राज्यमन्त्री एवं पूर्वसांसद सञ्जयकुमार साह 'टक्ला'विरुद्ध ३२ करोड ४ लाख ५० हजार सम्पत्ति गैरकानुनी आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। साहले विभिन्न गैरकानुनी गतिविधिबाट रकम आर्जन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन विपरीत कार्य गरेकाले उक्त रकम जफत र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।
साह विरुद्ध यसअघि विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले सांसद र मन्त्री हुदाँ पदको दुरुपयोग गर्दै साहले ३१ करोड बराबरको रकम अवैध आर्जन गरेको दाबी गरेको थियो। उक्त मुद्दा विशेषमा विचाराधीन छ। जनकपुर बम विस्फोटनको अभियोगमा जिल्ला अदालत धनुषाको आदेशले थुनामा रहेका साह विरुद्ध अदालतमा विचाराधिन मुद्दा तीन वटा पुगेको छ।
विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जबर्जस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चल अचल गरी ३२ करोडको सम्पत्ति भेटिएको आरोपपत्रमा उल्लेख छ।
साहविरुद्ध जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगको अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी तथा आफन्तका नाममा भएको चलअचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई २ वर्षअघि जिम्मा दिएको थियो।
साहलाई २०६९ वैशाख १८ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएको बम विस्फोट र २०६६ फागुन १७ मा सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार भएको आरोप उनी माथि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।