काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेको छ। कृष्णजन्माष्टमी, रामनवमी, घटस्थापना लगायतमा सरकारले बिदा कटौती गर्दा हिन्दु धर्मावलम्बीको भावनामा गम्भीर आघात पुगेको राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले विभिन्न चाडपर्व र दिवसको बिदा कटौती गर्दै शनिबारसहित वर्षमा ८९ दिनमा झारेको थियो। यसअघि शनिबारसहित वर्षमा १ सय ४ दिन सार्वजनिक बिदा थियो।
मन्त्रिपरिषद्को बैठकले गरेको यस्तो निर्णयले परम्परागत मूल्य मान्यतालाई अवमूल्यन गरेको र सामाजिक सद्भाव खल्बलिन सक्ने, धार्मिक द्वन्द्व बढाउने खतरा रहेको राप्रपाको ठहर छ।
पार्टीका अध्यक्ष कमल थापाले भने नेकपा एमालेले हिंसात्मक द्वन्द्वपछिको घटनाक्रमलाई मात्र मान्यता दिएको आरोप लगाएका छन्। अध्यक्ष थापाले ट्विट गर्दै प्रजातन्त्र स्थापना, सद्भाव र एकताको आधारको रुपमा रहेको सनातन धर्मको गौरवपूर्ण इतिहास एवं संस्कृति मेटाएर द्वन्द्वपछिको घटनाक्रमलाई मात्र मान्यता दिने योजनामा अन्तिममा एमाले समेत मतियार बनेको उल्लेख गरेका छन्।
सरकारले पृथ्वी जयन्ती र विभिन्न चाडपर्वमा विगतमा दिइएका सार्वजनिक बिदा कटौती गरेपछि राप्रपाले गम्भीर आपत्ति जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।