काठमाडौं– शिक्षा ऐन नवौं संशोधनको विरोधमा ३ प्रमुख विद्यार्थी संगठनहरुले देशभरका कलेजअगाडि विरोध प्रदर्शन गरेका छन्। बिहीबार अनेरास्ववियु, नेवीसंघ र अनेरास्ववियुृ(क्रान्तीकारी)को संयुक्त बैठकको निर्णयअनुसार पहिलो चरणमा देशभरका क्याम्पसअगाडि विरोध प्रदर्शन तथा एक घण्टा चक्काजाम गरिएको हो।
बिहान ८ बजेबाट सुरु भएको विरोध तथा चक्काजाम एक घण्टा चलेको थियो। सो क्रममा विद्यार्थीहरुले शिक्षा ऐन नवौं संशोधनको खारेजीको माग गरेका थिए।

आन्दोलनका क्रममा आज बिहान ११ बजे माइतीघर मण्डलामा बृहत प्रदर्शन र चक्काजाम गर्ने बताइएको छ। आजको दिनसम्म पनि विद्यार्थीका मागहरु सुनुवाई नभएमा भोलिदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने ३ विद्यार्थी संगठनहरुले बिहीबार नै एक विज्ञप्तिमार्फत घोषणा गरिसकेका छन्।
उता ऐन संशोधनकै विरोधमा गत सोमबारदेखि माइतीघर मण्डलामा अनसनरत त्रिवी शिक्षा शास्त्र संकायका विद्यार्थीहरुको स्वास्थ्य स्थिती जटिल बन्दै गएको छ। अनसनरत ३ विद्यार्थीमध्ये मिलन बास्तोलाको स्वास्थ्य स्थिती जटिल बनेपछि गएराति नै उनलाई वीर अस्पताल भर्ना गरिएको थियो।
अनसनमा बसेका अन्य २ विद्यार्थीहरु राजन लम्साल र हेमराज थापाको स्वास्थ्य पनि क्रमिक रुपमा कमजोर बन्दै गएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।