राजविराज– सप्तरीमा खुला दिसामुक्त घोषणा कार्यक्रमले यतिबेला भ्याइनभ्याई भएको छ।
चैत १६ मा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेकाले स्थानीय तहलाई त्यसअघि नै हतारोमा घोषणा गर्ने चटारो बढेको हो। नवनिर्वाचित प्रतिनिधिलाई यस्ता कार्यक्रमको आतिथ्यता गर्न र सरकारी कार्यालयदेखि गैरसरकारी संस्थासम्मलाई दिसामुक्त र पूर्ण खोपयुक्त घोषणासभा सम्पन्न गर्न भ्याइनभ्याई छ।
यसै क्रममा बुधबार मात्रै सप्तरीका ५ नगरपालिका र २ गाउँपालिकामा एकैदिन खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा भएका छन्। राजविराज, डाक्नेश्वरी, बोदेबर्साइन, खडग, हनुमानगर कंकालिनी नगरपालिका तथा विष्णुपुर र तिलाठी–कोइलाडी गाउँपालिका खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा भए।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह प्रमुख अतिथि भएर राजविराज नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे। यस्तै, प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीको प्रमुख आतिथ्यमा डाक्नेश्वरी नगरपालिकालाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त घोषणा गरियो।
चौधरीले डाक्नेश्वरी नगरपालिकालाई कार्यालय प्रयोजनका लागि १० कठ्ठा निजी जग्गा दान पनि गरेका छन्।
प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले खडग नगरपालिकालाई खुला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरे भने हनुमाननगर कंकालिनी नगरपालिकालाई रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले खुला दिसामुक्त भएको घोषणा गरे।
बोदेबर्साइन नगरपालिकालाई पनि बुधबारै खुला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो। राजपाका वरिष्ठ उपाध्यक्ष तथा पुर्व कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बोदेबर्साइनलाई खुला दिसामुक्त घोषणा गरे।
यसैगरी, प्रदेशसभा सदस्य मो. समिम अन्सारीले विष्णुपुर गाउँपालिका र जिल्ला समन्वय समितिका प्रमुख मनोज यादव (प्रभाकर) तिलाठी–कोइलाडी गाउँपालिकालाई खुला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका छन्।
घोषणा भएका स्थानीय तहमा कतिपय स्थानमा अहिले पनि शौचालय निर्माण र प्रयोगको अवस्था सन्तोषजनक छैन। तर, हचुवा शैलीमा नवनिर्वाचित जनप्रतिनिधिदेखि सिडिओसम्म उपस्थित भएर कार्यक्रम सफल भएको घोषणा गरिरहँदा स्थानीयहरु भने असन्तुष्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।