गौशाला- महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरका वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि उनीहरु गाउँबाट विस्थापित भएका छन्। जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै बुहारी समेतलाई गत शनिबार यातना दिइएको थियो।
सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ-बुहारी ३५ बर्षीया सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपिट गरेपछि बुधबारदेखि उनीहरु घरबाट हराएका छन्।
घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरुको गाउँ सुन्दरपुर पुग्दा उनीहरु घरमा फेला परेनन्। उनीहरु घर छाडेर गइसकेको छिमेकीले बताएका छन्।
स्थानीयवासीहरुका अनुसार दुवै जनालाई सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर बाँसको लट्ठी (कर्ची) ले कुटपिट गरिएको थियो। थप यातनाको डरले गाउँ नै छाडेर बेपत्ता भएको एक स्थानीयले बताए।
गत शनिबार दुवैमाथि पञ्चायत गर्नुपर्ने भन्दै बोलाएर वडा कार्यालयमा गाउँका भूतपूर्व अध्यक्ष रामेश्वर यादवले पीडित इसराफिलकै कमरको लुङ्गी खोलेर खुट्टा बाँधे। घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए। त्यस्तै, पीडित महिला सैरुललाई बीचमै बसाएर वडा अध्यक्ष आफैँ र स्थानीयवासी अमृत यादवसमेतले मरणासन्न हुने गरी कुटेर गरेर चरम यातना दिएका थिए।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान थालेपछि वडा अध्यक्ष महेश यादव पनि हिजोदेखि गाउँबाटै फरार छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।