काठमाडौं- नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा चौथो जित हात पारेको छ।
बिहीबार भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गरेको हो। तर सन्दीप भने आजको खेलमा प्लेइङ इलाभेनमा थिएनन्।
१४३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १९.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो। मेलर्बनको जितमा निक लर्किन र मार्कुस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे।
लर्किनले ८ चौका र १ छक्का प्रहार गर्दै ४५ बलमा ६५ रन बनाए। त्यस्तै, स्टोइनिसले ५८ रन बनाए।
बलिङतर्फ सिड्नीका ड्यानियल साम्सले ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो। सिड्नीको लागि एलेक्स रोसले ४० रन बनाए। बलिङतर्फ हरिस राउफले ३ विकेट लिए।
मेलबर्नको यो ५ खेलमा चौथो जित हो। यसअघि होबर्ट हुरिकेन्सलाई डकवर्थ लेविस (डिएल) मेथोडको आधारमा ४ रनले पराजित गरेको थियो।
त्यस्तै, मेलबर्नले एडलाइड स्ट्राइकर्ससँग ५ रनको झिँनो अन्तरको हार ब्यहोरेको थियो। तर मेलबर्नले होबर्ट हुरिकेन्सलाई नै ५२ रनले पराजित गरेको थियो। त्यस्तै, ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।