काठमाडौं- डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई २–१ गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा दुबै गोल गाब्रियल जेसुसले गोल गरे। यता, एभर्टनका लागि रिचार्लिसनले गोल गरे।
म्यानचेस्टर सिटीले पहिलो हाफ एभर्टनसँग गोलरहित बराबरी खेलेको थियो। तर दोस्रो हाफमा सिटीले सुधारिएको प्रदर्शन गर्दै २ गोल गर्दा १ गोल खान पुग्यो। खेलको ५१औं मिनेटमा जेसुसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
खेलको ५८औं मिनेटमा जेसुसले अर्को गोल थप्न सफल भए। यो गोलसँगै सिटी २–० गोलले अघि रहेको थियो। खेलको ७१औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने कोसिस गरेका थिए। तर बाँकी समयमा गोल गर्न नसकेपछि सिटीसँग एभर्टन २–१ गोलले पराजित भएको हो।
तेस्रो स्थानमा रहेको सिटीले जितपछि २१ खेलबाट ४४ अंक बनाएको छ। पराजित एभर्टनको भने २१ खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।