डडेल्धुरा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० समृद्धिको अभियान भएको बताएका छन् ।
सदमुकाम अमरगढी नगरपालिकाले आयोजना गरेको ‘घुम्न जाऔँ अमरगढी’ कार्यक्रमको उद्घाटनमा उनले यस्तो बताएका हुन्।
मन्त्री बाँस्कोटाले भ्रमण वर्ष २०२० सधैं चलाईराख्नु पर्ने बताउदै यो प्रगति गर्ने विशाल ढोका खुलेको तथा समृद्धिको अभियान सुरु भएको बताए। उनले भने, ‘अब भ्रमण २०२० मात्र हैन सबै दिन, वर्ष, हप्ता सधै भ्रमण वर्ष मनाउनु पर्छ, यो हाम्रो प्रगति गर्ने विशाल ढोका हो। त्यो सधैं खुल्ला राख्नु पर्छ ।’
उनले सुदूुरपश्चिमको संस्कृति अब बँच्नुपर्ने पनि धारणा राखे। भने, ‘अब यस क्षेत्रको संस्कृति बँच्नु पर्छ, स्वदेशी तथा विदेशी पर्यटकलाई रमाउने तथा नाँच अवलोकन गराएर हामी आयआर्जन गर्नु पर्छ ।’
रावलप्रति कटाक्ष
मन्त्री बाँस्कोटाले नेकपाका नेता भीम रावलका अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरे। तराईको विकासको बाधक दाईजो भएजस्तै सुदूरपश्चिम प्रदेशको समृद्धिको बाधक छाउपडी प्रथा रहेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘छाउपडी हटाउन नसक्ने, एमसीसी–एमसीसी भनेर ठूलो कुरा गर्ने?’
‘चर्चित नेताहरू यसै प्रदेशमा छन्, त्यही पनि अछाममा छाउपडी प्रथा छ, अनि किन ठूला कुरा गर्ने ?’उनले भने।
सुदूरपश्चिमबाट ८ पटकसम्म देशको नेतृत्व गरेका नेताहरु रहेको र दोस्रो तहमा बसेर मुलु्कको सत्तामा पुगेका पनि थुप्रै नेताहरु रहँदा पनि उनीहरुले सामाजिक कुप्रथाविरुद्ध आवाज नउठाउनु दुःखद भएको बास्कोटाले बताए।
‘आफ्नै घर आँगनमा विकराल समस्या छ, त्यसलाई समाधान गर्न चासो दिएको देखिँदैन’, मन्त्री बाँस्कोटाले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा खोकेर केही हुनेवाला छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।