काठमाडौं- सन् २००९ सकिनै लाग्दा विश्व फुटबलमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको कला खुब फैलिसकेको थियो। अहिले २०१९ सकिँदा त्यसको उचाइको ब्याख्या असम्भव लाग्छ। अझै केही वर्ष उनीहरुको फुटबल जादु सकिएला जस्तो छैन।
२००८ पछि चलेको रोनाल्डो कि मेस्सीको बहस त अहिले २०२० सुरु हुँदासम्म चलिरहला भन्ने धेरैको कल्पनाभन्दा बाहिर थियो।
गएको दशकलाई हेर्दा विश्व फुटबलको केन्द्रमा रोनाल्डो र मेस्सी नै छन्। १० वर्षको समयमा ४ सय ८९ खेलमा ४ सय ७७ गोल गरेका रोनाल्डो र ५ सय २१ खेलमा ५ सय २२ गोल गरेका मेस्सी वर्ष २०१९ मा पनि उसैगरी चले।
२००७ मा ब्राजिलियन खेलाडी काकाले जितेको बालोन डि’ओरपछि लगातार १० पटक रोनाल्डो र मेस्सीले नै आफ्नो अब्बलता प्रमाणित गरिरहे। २०१८ मा रोनाल्डो र मेस्सीलाई पछि पार्दै लुका मोडरिकले जितेको अवार्ड २०१९ मा पुनः मेस्सीले कीर्तिमानी छैठौँ पटक जिते। विश्व फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डिओर पाउनुले रोनाल्डो र मेस्सीको समय अझै चलिरहेको देखियो।
बालोन डिओर बाहेकका अवार्डलाई हेर्ने हो भने पनि गएको दशकमा रोनाल्डोले विभिन्न २१ अवार्ड जिते भने मेस्सीले २४ अवार्ड जितेका छन्। व्यक्तिगत अवार्ड मात्रै होइन टिममार्फत जितेको उपाधि हेर्ने हो भने पनि रोनाल्डोले रियल मड्रिड, युभेन्टस र पोर्चुगलबाट गरेर २० उपाधि जिते भने मेस्सीले बार्सिलोनाबाट २३ उपाधि जिते।

यो समयमा बार्सिलोनाबाट मेस्सीले दुई पटक च्याम्पियन्स लिग, ६ पटक ला लिगा र ५ पटक कोपा डेल रे को उपाधि जिते। रोनाल्डोले रियल मड्रिडबाट चार पटक च्याम्पियन्स लिग, २ पटक ला लिगा, २ पटक कोपा डेल रे र युभेन्टसबाट एक पटक सिरी ए को उपाधि जिते। त्यसमा विशेष २०१६ को युरो कप पोर्चुगलबाट जिते।
२०१० देखि २०१८ सम्म त बार्सिलोना र रियल मड्रिडबीचको खेल भिडन्तमा रोनाल्डो र मेस्सीले विश्व खेलकुदमा नै राज गरे। रोनाल्डो युभेन्टस पुगेपछि पनि अहिलेसम्म दुईबीचको तुलनामा कमि आएको भने छैन। यसैले त रोनाल्डोलाई खेल सामग्री प्रायोजन गर्ने नाइक होस् या मेस्सीलाई प्रायोजन गर्ने एडिडास दुवैको विश्व बजार जोडिइरहेको छ। सामाजिक सञ्जालमा रोनाल्डो र मेस्सीबारे हुने चर्चाले त बाँकी सबै कुरालाई पछि पारिदिन्छ।
.jpg)
त्यसो भए रोनाल्डो कि मेस्सी त? फुटबल बुझ्नेहरुको जवाफ हुन्छ दुवैलाई रोज्न किन सकिँदैन? धेरै गोल गर्ने खेलाडी, राम्रो गोल गर्ने खेलाडी, राम्रो पेनाल्टी हान्ने खेलाडी, राम्रो फि किक हान्ने खेलाडी विश्व फुटबल स्ट्राइकरमा हुने हरेक गुणबारे कुरा गर्दा यिनै दुईको नाम अगाडि आइरहन्छ। २०१० देखि २०२० सम्म रोनाल्डो र मेस्सीले गरेर १ सय ३ पटक त ह्याट्रिक नै गरेका छन्।
सबैमा गरेर मेस्सीले अहिलेसम्म खेलेका ८ सय ४३ खेलमा ६ सय ८८ गोल गरेका छन् साथै २ सय ८२ गोलका लागि अवसर बनाएका छन्। रोनाल्डोले ९ सय ८९ खेलमा ७ सय १२ गोल गरेका छन् र २ सय १९ गोलका लागि अवसर बनाएका छन्।
बालोन डिओर नै हेर्दा मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा जिते भने रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जिते। यस्तै युइएफए वर्ष खेलाडी अवार्ड मेस्सीले २००९, २०११ र २०१५ मा जिते भने रोनाल्डोले २००८, २०१४, २०१६ र २०१७ मा जिते। मेस्सीले २००९–१०, २०११–१२, २०१२–१३, २०१६–१७, २०१७–१८ र २०१८–१९ मा गोल्डेन सुज जिते भने रोनाल्डोले २००७–०८, २०१०–११, २०१३–१४, २०१४–१५ मा गोल्डेन सुज जिते।
.jpg)
सबै गरेर उपाधिका हिसाबले हेर्ने हो भने मेस्सीले ३५ उपाधि जितेका छन् भने रोनाल्डोले २७ उपाधि जितेका छन्। जसमा मेस्सीले जितेका उपाधिमा १० ला लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रे, ९ सुपरकोपा, ३ सुपर कप, ३ क्लब विश्वकप साथै २००८ मा ओलम्पिक स्वर्ण पदक जितेका थिए।
रोनाल्डोले ५ च्याम्पियन्स लिग, ३ प्रिमियर लिग, १ एफए कप, २ लिग कप, २ ला लिगा, २ कोपा डेल रे, १ सिरी ए, २ सुपर कप, ४ क्लब विश्व कप, २ सुपर कोपा, १ नेसन्स लिग साथै २०१६ को युरो कप जितेका थिए।
रोनाल्डो ३४ वर्षका र मेस्सी ३२ वर्षका भए। तर उमेरको उकालो उनीहरुको लागि अर्को एक जन्मदिनका रुपमा मात्र बढीरहेको छ। विश्व फुटबलमा लगातार देखिएको अब्बल खेलले उनीहरु अझ केही वर्ष पछि पर्लान् भन्ने लाग्दैन।
३० वर्ष लागेपछिकै खेललाई हेर्ने हो भने मेस्सीले १ सय १९ खेलमा १ सय १० गोल गरेका छन्। रोनाल्डोले २ सय खेलमा १ सय ७४ गोल गरेका छन्। यसैले त यी दुई खेलाडीको तथ्यांक र कीर्तिमान अर्को खेल नखेल्दासम्म रहन्छ र हरेक नयाँ खेलमा केही न केही उपलब्धी देखिइहालिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।