काठमाडौं- विभागीय टिम आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टारलाई पराजित गरेको छ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले थ्रीस्टार क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो। खेलको ५४औं मिनेटमा आर्मीका लागि नवयुगले गोल गर्दै १–० गोलको अग्रता दिलाए। कप्तान भरत खवासले दिएको क्रस पासमा उनले भली सटमा गोल गरेका थिए।
खेलको ७९औं मिनेटमा सन्तोषले उत्कृष्ट फ्रिकिकबाट गोल गर्दै आर्मीलाई २–० गोलको अग्रता दिलाए।
यो जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ। आर्मीको ४ खेलबाट ९ अंक छ। पराजित थ्रीस्टारको भने चार खेलबाट ७ अंक छ। १० अंक बनाउँदै मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा रहँदा ९ अंकका साथ मछिन्द्र दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।