काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार काठमाडौंमा विद्यार्थीले अथाह ज्ञान कसरी प्राप्त गर्ने भनी प्रश्न सोधेका छन्।
जेभिएर इन्टरनेशनलका विद्यार्थी प्रज्ञान बस्नेतले ‘हजुर जस्तो प्रश्नको पनि सामान्य ढंगले उत्तर दिनुहुन्छ। हजुरको जस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला?’ भनेर प्रश्न सोधे। यो प्रश्नलगत्तै प्रधानमन्त्री ओलीले मुसुक्क मुस्कुराउँदै विद्यार्थीलाई धन्यवाद दिएर जवाफ दिन सुरु गरे।
प्रधानमन्त्री ओलीले आफूसँग अथाह ज्ञान नभएको जिकीर गरे।
‘भाइबहिनीलाई लागेको छ मसँग अथाह ज्ञान छ भन्ने त्यो साँचो होइन,’ उनले भने, ‘मसँग अलिकति थौरै आफ्नो विषयगत ज्ञानमा रुचिमात्र छ। मलाई नेपालबारे सोध्यो भने अलि बढी थाहा छ। अरू देशबारे सोध्यो भने कम थाहा छ।’
उनले आफ्ना र समाजका लागि उपयोगी हुने कुरा जान्नुपर्ने पनि बताए। उनले आफू बालक हुँदा शिक्षक बन्ने इच्छा राखेको पनि बताए।
‘म किसान परिवारमा जन्मेको हुँ। त्यो बेला देशको प्रधानमन्त्री हुन्छु भनेर सोच्नु पनि संभव थिएन,’ उनले सुनाए, ‘गुरूहरू देखेर मास्टर बन्ने रहर पलाएको थियो।’
उनले समयक्रममा समाजमा बेठीक र अनुचित काम देखेपछि त्यो बदल्न आफू संघर्ष यात्रामा होमिएको सम्झिए।
‘प्रधानमन्त्री बन्ने त कल्पना थिएन। देशमा परिवर्तन ल्याउने भन्ने धारणा थियो,’ उनले भने।
उनले पञ्चायती तानाशाहविरूद्ध लड्दा मर्न परे पनि मर्छु भनेर होमिएको पनि बताए। जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको थिएँ त्यो आफूले पुरा गरेको उनले बताए। निरंकुशतन्त्र ढाल्ने, लोकतन्त्र ल्याउने मेरो सपना थियो त्यो पुरा भएको छ। उनले जेलमा पर्दा अहिले मार्छ कि भोलि मार्छ भन्ने त्रास रहेको पनि बताए।
‘अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भनेर विपरीत सपना देख्नु मुर्खतापूर्ण नै थियो,’ उनले भने।
उनले सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री बनाएको पनि उल्लेख गरे। ‘प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नभई देश बन्नुपर्छ भनेर काम गरिरहेको छु,’ उनले भने। अध्ययनक्रम भने जारी राख्नुपर्ने प्रधानमन्त्रीले विद्यान हुँ भनेर घमण्ड गर्ने काम नलाग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।