काठमाडौं- २०१९ देखि २०२२ सम्म चल्ने आइसिसी विश्व कप क्रिकेट लिग–टु अन्तर्गत नेपालले अमेरिका र ओमानसँग खेल्ने त्रिदेशीय सिरिजको खेल तालिका अनुसार पहिलो खेल ओमानसँग खेल्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २२ देखि २९ गते सम्म आइसिसी विश्व कप क्रिकेट लिग–टु अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिदेशीय सिरिज खेल्दैछ।
२०१९ देखि २०२२ सम्म आयोजना हुने यो लिग–टु क्रिकेट प्रतियोगितामा नेपालले पहिलो चरणको सिरिजमा अमेरिका र ओमानसँग खेल्न लागेको हो।
आइसिसीका अनुसार नेपालले सिरिजको पहिलो खेलमा माघ २२ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, माघ २३ मा ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
माघ २५ नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, २६ गते नेपालले ओमानसँग सिरिजको दोस्रो चरणको खेल खेल्नेछ। त्यस्तै, माघ २८ गते अमेरिकाले ओमानसँग खेल्दा २९ गते सिरिजको अन्तिम खेल नेपालले अमेरिकासँग खेल्नेछ।
के हो लिग–टु?
आइसिसी विश्व कप क्रिकेट लिग–टु सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने बाटो हो।
लिग–टु मा अहिले सात देश छन्। २०१९ को अगष्टबाट नै सुरु भएको यो लिग–टु मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्। जसमा अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले समान ८–८ खेल खेलिसकेका छन् भने, नामिविया, ओमान र युएईले समान ४–४ खेल खेलिसकेका छन्। नेपालको भने ओमान र अमेरिकासँगको सिरिज नै पहिलो हो।
जसअनुसार अमेरिकाले १२ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ९ अंक बनाएर दोस्रो र नामिविया र ओमान समान ६–६ अंक बनाउँदै तेस्रो र चौथो स्थानमा छन्। युएईले ३ अंक बनाएको छ। यता, ८ खेलमा सबैमा पराजित भएको पपुवा न्युगिनी भने लिग–टु को पुछारमा छ।
यसरी एउटा टिमले लिग–२ मा ३६ वटा खेल खेल्नेछ। लिग–२ बाट शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिधै स्थान बनाउने छन्।
बाँकी चार टिमले पनि विश्वकप छनोटमा प्रवेश गर्न अर्को मौका पाउने छन्। जसलाई आइसिसीले प्लेअफको उपनाम दिएको छ।
जहाँ लिग–२ बाट आएका ४ टिम र च्यालेन्ज लिगबाट आएका शीर्ष २ टिमसहित ६ टिमले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। २०२२ मा आयोजना हुने प्लेअफबाट शीर्ष २ टिम विश्वकप छनोट खेलमा प्रवेश गर्नेछन्।
विश्वकप छनोट २०२२ मा आयोजना हुनेछ। जहाँ सुपर लिगका पुछारका ५, लिग–२ बाट आएका ३ र प्लेअफबाट आएका २ राष्ट्र गरी १० टिमले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
सुपर लिगमा टेस्ट मान्यता प्राप्त १२ देश र नेदरल्याण्ड्स रहेका छन्। यस्तै च्यालेन्ज लिगमा आइसिसी वरियतामा २१ सहित ३२ औँ स्थानसम्म रहेका देशले प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोटबाट विजेता र उपविजेता बन्ने टिमले मात्रै भारतमा सन् २०२३ मा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। विश्वकपमा १० टिमको सहभागिता रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।