काठमाडौं- उखु किसानलाई ठग्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने विषयमा सरकार पछि हटेकाे छ।
उद्याेगीलाई पक्राउ गर्दा नकारात्मक सन्देश जाने भन्दै पक्राउ नगर्ने नीति सरकारले लिएको हाे।
उपप्रधानमन्त्री ईश्वर पाेखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसालकाे बैठकपछि सरकार यस्ताे निष्कर्षमा पुगेकाे हाे।
उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन चर्काएपछि मंगलबार समस्याकाे समाधान खाेज्ज बसेकाे बैठकमा पक्राउ गर्दा लगानी निरूत्साहित हुने विषय उठेकाे बुझिएको छ।
उद्योगमन्त्री भट्टले सरकार चिनी मिल संचालकलाई तत्काल पक्राउ गरिहाल्ने विषयबाट पछि हटेको पुष्टि गरेका छन्।
उनले भने, 'उद्योगी पक्राउ गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी निरूत्साहित हुन्छ। पक्राउ नगरेरै किसानलाई न्याय दिलाउँछाैं।'
मन्त्री भट्टले उखु किसानलाई सम्बाेधन गर्दै थपे, 'तपाईंहरूलाई आजै पक्रेर समस्या समाधान हाेस् भन्ने लागेकाे छ। तर, प्रक्रियामा जाँदा केही ढिलाइ हुन्छ। उद्योगी पक्राउ गर्दा सन्देश राम्रो जाँदैन।'
उनले माघ पहिलो सातासम्म भुक्तानी दिलाइछाड्ने प्रतिबद्धता जनाएका छन्। दीर्घकालीन समस्या समाधानका लागि कार्यदल बनाउने आश्वासनसमेत उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।