काठमाडौं- सरकारले आगामी माघ पहिलो साताभित्र उखु किसानका बक्यौता दिलाइदिने प्रतिबद्धता जनाएको छ। उद्योग मन्त्रालयमा बुधबार भएको वार्तामा उद्योग मन्त्री लेखराज भट्टले उक्त प्रतिबद्धता जनाएका हुन्।
मन्त्री भट्टले ८० प्रतिशत भुक्तानी यही पुस २५ गतेभित्रै र बाँकी माघ पहिलो साताभित्र दिलाउने प्रतिबद्धता जनाएका हुन्। उनले त्यसका लागि प्रक्रिया थालेको र चिनी मिल मालिकले पनि उक्त समयभित्र दिलाउने प्रतिबद्धता जनाएको जानकारी उखु किसानलाई दिए।
उनले त्यति गर्दा पनि किसानले भुक्तानी नपाए सरोकारवाला निकायको सहभागितामा सरकारले छानबिन समिति बनाउने र चिनी मिल मालिकलाई कारबाही गर्ने आश्वासन पनि दिएका छन्।
‘तपाईंहरुले भुक्तानी पाउनु भएन भने सरकारले कारबाही गर्नेछ, कारोबार रोक्का राख्नेछ र मिल सञ्चालकको सम्पत्तिबाट भए पनि भुक्तानी दिलाउँछौं, आन्दोलन गर्न पर्दैन,’ किसानलाई आग्रह गर्दै उनले भने, ‘म तपाईंहरुलाई जिल्लामै आएर न्याय दिएरै छाड्छु।’
उनले प्रक्रियामा जान केही दिन लाग्ने भएकाले भुक्तानी पाउने कुरामा आश्वस्त हुन आग्ह गरेका थिए।
वार्तामा किसानका तर्फबाट धारणा राखेका राकेश मिश्रले आफूहरु १५ महिनादेखि आन्दोलनमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।