काठमाडौं– नक्कली सुनलाई सक्कली भन्दै कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका– १ बस्ने ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मिख्खु भन्ने मुक्तियार सिंह र सोही स्थान घर भएका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका– ४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उक्त गेष्ट हाउसको कोठा नम्बर ७ खानतलासी गर्दा लुकाइछिपाइ राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ किलो ४ सय ग्राम नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ।
सुरुमा सुनसहित शंकर बोहरालाई प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंहसमेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।