धनगढी- नयाँ शैक्षिक सत्र २०७५ का लागि ७ नम्बर प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ।
बिक्रीवितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र, क्षेत्रीय कार्यालय धनगढीले सोमबारदेखि प्रदेश नम्बर ७ का दुर्गम जिल्लामा पाठ्यपुस्तक पठाउन थालेको हो।
‘दुर्गम जिल्ला दार्चुला र बाजुरामा पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेका छौं,’ जनक शिक्षाका क्षेत्रीय प्रमुख योगेन्द्रराज भट्टले भने, 'त्यसको लगत्तै बझाङ, बैतडी, अछाम, डोटी, डडेल्धुरा तथा कञ्चनपुर र अन्त्यमा कैलालीमा पाठ्यपुस्तक बिक्री वितरण गर्नेछौं।'
क्षेत्रीय प्रमुख भट्टले शैक्षिक सत्र सुरु हुनु अगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउन दुर्गम जिल्लाबाट बिक्री वितरण सुरु गरेको बताए। केन्द्रले चैत महिनाको अन्तिम साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य लिएको उनी बताउँछन्।
‘विगतमा विभिन्न कारण समयमा पाठ्यपुस्तक नपुग्दा केही जिल्लामा पाठ्यपुस्तक अभावका खबर आउने गरेका थिए,’ प्रमुख भट्टले भने, 'पहिलोपटक केन्द्रले कुनै पनि ठाउँबाट पाठ्यपुस्तक अभाव हुन नदिने योजना अनुसार काम गरिरहेको छ।' उनका अनुसार केन्द्रले अहिलेसम्म २३ लाख थान पाठ्यपुस्तक भण्डारण गरिसकेको छ। गत वर्ष प्रदेशमा २० लाख थान पुस्तक आवश्यक भएकोमा आगामी शैक्षिक सत्रमा २३ लाख ७० हजार थान आवश्यक हुने केन्द्रले जनाएको छ।
केन्द्रमा भण्डारण गर्न सक्ने क्षमताको गोदाम नभएकाले अहिले थप आपूर्ति नगरिएको बताए। प्रदेशका केही जिल्लामा पाठ्यपुस्तक ढुवानी गरेपश्चात ७५ हजार पाठ्यपुस्तक मगाइने केन्द्रको योजना छ। उनका अनुसार केन्द्रको भण्डारण क्षमता १५ लाख थान पाठ्यपुस्तकको रहेको छ।
समयमै पाठयपुस्तक नपुग्दा हरेक वर्ष प्रदेश नम्बर ७ (सुदूरपश्चिम) का अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी समस्यामा पर्दै आएका थिए। केन्द्रले प्रत्येक वर्ष समयमै पाठ्यपुस्तक पुर्याउने बताउँदै आए पनि पछिल्लो ५ वर्षयता प्रदेशका दुर्गम जिल्लामा पाठ्यपुस्तक अभाव कायमै रहेको थियो।
केन्द्रले आर्थिक वर्ष २०७० देखि पाठ्यपुस्तक वितरणमा एकरुपता ल्याउने भन्दै सुदूरपश्चिमका ८ जिल्ला सदरमुकाममा सहायक डिलर स्थापना गरी पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो। त्यसरी वितरण गर्दा समेत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि २०७३ सालदेखि पुनः पुस्तक पसलमार्फत नै पाठ्यपुस्तक बिक्रीवितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।