रत्ननगर- मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुई जना घाइते भएका थिए।
बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन नदिन नियन्त्रणका लागि हात्तीसहित टोली खटाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
डाटगनसहित टोली परिचालन भएको चितवन निकुञ्जले जनाएको छ। सम्भव भए डार्टगनमार्फत नियन्त्रणमा लिइनेछ। बाघ नियन्त्रणमा पर्सा र चितवन निकुञ्जको संयुक्त टोली परिचालन भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुई वटा गरी चार हात्तीसहित पशु चिकित्सक, वन प्राविधिज्ञसहितको टोली बाघ नियन्त्रणका लागि प्रतापपुर पुगेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए।
'टोलीले आसपास नै बाघ छ भन्ने अनुमान गरेको छ,' डा गैंरेले भने, 'बाघलाई नियन्त्रणको प्रयास भइरहेको छ।' सोमबार दिउँसोदेखि नै टोली परिचालन भएको भन्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले राति ११ बजेदेखि दोस्रो अपरेशन शुरु भएको जानकारी दिए।
सो टोलीमा प्राविधिज्ञ, चिकित्सक र डार्ट टोलीसहित करिब ५० जना परिचालन भएको आचार्यले जानकारी दिनुभयो । आज पनि बिहानैदेखि टोलीले बाघको खोजी गरिरहेको जनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।