काठमाडौं- सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटका महत्वपूर्ण क्षणहरुमा नेपालका रोहित कुमार पौडेलले सबैभन्दा कम उमेरमा बनाएको अर्धशतक र नेपालका लागि एकदिवसीयमा पहिलो शतक बनाएका पूर्वकप्तान पारस खड्काको सम्झना आइसिसीले गरेको छ।
यस्तै नेपालकी अञ्जली चन्दले महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध लिएको ६ विकेट पनि आइसिसीको वर्षको उत्कृष्ट क्रिकेट क्षणमा परेको छ।
सन् २०२० को पूर्वसन्ध्यामा आइसिसीले तयार पारेको झण्डै साढे ३ मिनेटको भिडियोमा रोहित र पारससँग अञ्जलीको खेलको सम्झना गरिएको हो।
रोहितले गएको जनवरी २६ मा रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा बनाएको एकदिवसीय अर्धशतक क्रिकेट इतिहासमा सबैभन्दा कम उमेरमा बनेको अर्धशतक हो। उनले युएईविरुद्ध ५८ बलमा ५५ रन बनाएका थिए।
जसले गर्दा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमान रोहितले तोडेका हुन्। तेन्दुलकर सन् १९८९ मा पाकिस्तानविरुद्ध टेस्टमा आफ्नो पहिलो अर्धशतक बनाउँदा १६ वर्ष २ सय १३ दिनका थिए।
रोहितअघि एकदिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमान अफ्रिदीको नाममा थियो। उनी सन् १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाउँदा १६ वर्ष २ सय १७ दिनका थिए।
यस्तै गएको वर्ष जनवरी २८ मा पूर्वकप्तान पारस खड्का नेपालका लागि एकदिवसीयमा पहिलो शतक बनाउने खेलाडी बने। त्यसबेला पारसले युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए। जुन नेपालका लागि एकदिवसीयमा पहिलो शतक हो। गएको वर्ष सेप्टेम्बर २८ मा पारसले सिंगापुरविरुद्धको टी २० खेलमा नेपालका लागि पहिलो शतक पनि बनाएका थिए।
यस्तै गएको जनवरी ३१ मा नेपालका सन्दीप जोरा अन्तर्राष्ट्रिय टी २० मा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका थिए। उनले युएईविरुद्धको खेलमा १७ वर्ष १ सय ३ दिनको उमेरमा बनाएको अर्धशतक कीर्तिमानी अर्धशतक हो।
यस्तै नेपालकी अञ्जली चन्दले महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध लिएको ६ विकेट पनि आइसिसीको वर्षको उत्कृष्ट क्रिकेट क्षणमा परेको छ। दक्षिण एसियाली खेलकुदको महिला क्रिकेटमा अञ्जलीले माल्दिभ्सविरुद्ध एक रन पनि नदिइ ६ विकेट लिएकी थिइन्। जुन उनको अन्तर्राष्ट्रिय टी २० को डेब्यू खेल पनि थियो।
वर्षको महत्वपूर्ण खेलमा अरु के के छन्?
जनवरी ७ मा भारतले अस्ट्रेलियामा जितेको मेडन टेस्ट सिरिज।
फेब्रुअरी १ मा भारतकी मिथिला राज २ सय एकदिवसीय खेल्ने पहिलो महिला क्रिकेटर बनिन्।
फेब्रुअरी २३ मा दक्षिण अफ्रिकामा टेस्ट सिरिज जितेको श्रीलंका दक्षिण अफ्रिकामा टेस्ट सिरिज जित्ने पहिलो एसियाली देश बन्यो।
फेब्रुअरी २४ मा अफगानिस्तानले आयरल्याण्डविरुद्धको टी २० मा २ सय ७८ रन बनायो। जुन अन्र्राष्ट्रिय टी २० को सबैभन्दा धेरै रन हो।
मार्च १८ मा अफगानिस्तानले आयरल्याण्डलाई हराउँदै पहिलो टेस्ट सिरिज जित्यो।
मार्च २३ मा नाइजेरियाको यु १९ टिम पहिलो पटक विश्वकपका लागि छनोट भयो।
अप्रिल २७ मा क्लेरी पोलोसाक पुरुष एकदिवसीय खेलमा अम्पायर बन्ने पहिलो महिला बनिन्। उनले डिभिजन टू अन्तर्गत ओमन र नामिबियाबीचको खेल खेलाएकी थिइन्।
नामिबिया, ओमन, अमेरिका र पपुवा न्यु गिनीले एकदिवसीय मान्यता पाए।
जुन १८ मा इवोन मोर्गानले एकदिवसीयमा १७ छक्का हानेर एकै खेलमा सबैभन्दा धेरै छक्काको कीर्तिमान बनाए।
जुन २० मा युगान्डाको महिला टिमले टी २० क्रिकेट इतिहासमा सबैभन्दा धेरै ३ सय १४ रन बनाए।
जुन २७ मा भारतका विराट कोहली सबैभन्दा छिटो २० हजार रन बनाउने खेलाडी बने।
अगस्ट १ मा इंग्ल्याण्ड र अस्ट्रेलिया जर्सी नम्बर र नामसहित टेस्ट क्रिकेट खेल्ने पहिलो टिम बने।
सेप्टेम्बर ५ मा थाइल्याण्ड २०२० को महिला टी २० विश्वकपमा छनोट भएर इतिहास बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।