राजविराज- छिन्नमस्ता गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता रोकेर राखेको आरोप लगाउँदै मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ र प्रदर्शन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्नमस्ता संघर्ष समितिको नेतृत्वमा गाउँपालिकाका वृद्धवृद्धा र अपाङ्गसहित स्थानीयवासीले कार्यालयमा घेराउ गरेका हुन्।
शीतलहरको चिसोमा पनि गाउँपालिकाले वृद्धवृद्धा, एकल महिला, अपांग, दलित तथा बालबालिकाको सामाजिक सुरक्षा भत्ता रोकेर राखेको नेकपाका जिल्ला कमिटी सदस्य जयप्रकाश यादवले आरोप लगाए।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य पदाधिकारीले काम गर्न नसक्दा हालसम्म गाउँसभा हुन नसकेको र सम्पुर्ण विकासीय गतिविधि ठप्प भएको नेकपाका अर्का जिल्ला कमिटी सदस्य तेजनारायण यादवले बताए। तत्काल गाउँसभा सम्पन्न गरी विकास निर्माणका काम सुरु गर्न र सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गर्न उनीहरुको माग छ।
यसैगरी, वडा भेला पारदर्शी गर्नुपर्ने, आव ०७५/०७६ को आयव्यय सार्वजनिक गर्नुपर्ने, कृषकलाई सुलभ रुपमा बीउ तथा मल वितरण गर्नुपर्ने, करार कर्मचारीको नियुक्ति प्रकृया सार्वजनिक गर्नुपर्ने तथा गरिब, भूमिहीन, दलित, अल्पसंख्यकका लागि विशेष योजना ल्याउन आन्दोलनकारीले माग गरेका छन्।
.jpg)
कार्यालय घेराबन्दी र प्रदर्शन गर्ने क्रममा रोक्न खोजेपछि आन्दोनकारी र प्रहरीबीच हातपातसमेत भएको थियो। गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुडुर’ले पनि आफूमाथि हातपात भएको बताएका छन्।
सामाजिक सुरक्षा भत्ताको बहानामा सुनियोजित रुपमा गाउँपालिकामा आन्दोलन गराइएको अध्यक्ष मण्डलको आरोप छ। आन्तरिक समस्याका कारण हालसम्म गाउँसभा गर्न नसकिएको र पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता समेत रोकिएको स्विकारेका उनले गाउँसभा सम्पन्न हुनासाथ सबै काम सुरु हुने बताए। ‘एक साताभित्रै गाउँसभा सम्पन्न गर्ने गरी हामी काम गरिरहेका छौं,’ उनले भने, ‘यसरी हातपात र आक्रमण हुन थालेपछि कसरी काम गर्ने? अप्ठ्यारो भयो।’
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।