काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बिबिसीले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। बिबिसीका लागि विजय गुरुङले गोल गरे।
खेलको १७औं मिनेटमा नै विजयले गोल गर्दै बिबिसीलाई अग्रता दिलाएका थिए। सुरुवातमै अग्रता बनाएको बिबिसीले पहिलो हाफमा अग्रतालाई कायमै राख्न सफल भयो। दोस्रो हाफमा पनि हिमालयन शेर्पाले बिबिसीविरुद्ध गोल गर्न सकेन।
दोस्रो हाफमा आफ्नो रक्षापंक्तिलाई बलियो बनाउँदै बिबिसीले हिमालयन शेर्पामाथि १–० गोलको जित हात पारेको हो।
जितसँगै बिबिसीले ४ खेलबाट २ खेलमा जित र २ खेलमा ब्यहोर्दै ६ अंक बनाएको छ। पराजित हिमालयन शेर्पा भने लिगको ११औं स्थानमा छ। उसले ४ खेलबाट २ खेलमा हार र २ खेलमा बराबरी खेल्दै २ अंक बनाएको छ।
लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। उसको ४ खेलबाट १० अंक हुँदा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको समान खेलबाट ९ अंक छ। त्यस्तै, लिगको तेस्रो स्थानमा जावलाखेल युथ क्लब छ। उसको ४ खेलबा ८ अंक हुँदा ३ खेल खेलको थ्रीस्टार ७ अंकसहित चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।