काठमाडौं- चिनी मिलले उखुको बक्यौता रकम नदिएपछि सरकारसँग हारगुहार गर्न आएका किसानका भीडमा भेटिए सर्लाही सिसौटियाका रौदी महतो।
सेतै फूलेकोे थाप्लो। काठमाडौंको धुलो र ठिहीले थप चिरिएका पाइताला।
झन् त्यसमाथि आफ्नो पसिनाको मूल्य कसरी लिने भन्ने चिन्ताको भारी।
दिनभरि माइतीघरको सिरेटो। राति कवाडी जम्मा गर्ने गोदाममा टाउको लुकाउँछन् उनी, जहाँ उनका छिमेकी साथीले आश्रय दिएका छन्।
पानी र बिस्कुटको भरमा दिनभर माइतीघर धाउँछन्।
पुख्र्यौली पेशा उखु खेतीलाई निरन्तरता दिँदै आएका महतो ६० वर्ष पुगे। १२ जनाको परिवार उनैमाथि निर्भर छन्। परिवारका सदस्यको दैनिक हातमुख जोर्ने माध्यम नै उखु खेती हो।
५ कठ्ठा जग्गामा उखु खेती गर्दै आएका रौदीको २०७३ सालदेखिको ४ लाखभन्दा बढी रकम अन्नपूर्ण चिनी मिलले दिएको छैन।
आफ्नो गाँस नै चिनी मिलले खोसेपछि आफ्नो बक्यौता रकम माग गर्दै सरकारको ढोका घच्घच्याउन उनी साहुबाट ऋण लिएरै काठमाडौं आए। ‘मेरो बक्यौता रकम फिर्ता लिएरमात्रै जाने गरी म ५ हजार ऋण लिएर काठमाडौं आएँ, यो पैसा सकियोस्, यहीँ मरिन्छ भने पनि मरियोस्, जसरी हुन्छ बक्यौता रकम सरकारले हामीलाई दिलाउनै पर्छ,’ रौदीले भने।
आफूले वर्षौंदेखि बगाएको पसिनाको कमाई नै चिनी मिलले खाएपछि रौदीलाई निकै असह्य भएको छ। अर्कोतिर उखु खेती बिस्तार गर्दा ३६ प्रतिशत ब्याजदरका हिसाबले साहुबाट लिएको २ लाख ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि छ।
सरकारले बक्यौता रकम पाउने ग्यारेन्टी नगरे उखु खेतीको जिम्मा सरकारलाई थमाउने सोचमा छन् उनी।
‘अब उखु खेती नगर्ने, पुरै उमेर नै उखुमा सकियो, ऋणमाथि ऋणले थिच्यो। हामीले के पायौँ खै? अब सरकार आफैँ गरोस् न उखु खेती’ रौदी जंगिए।
भोट माग्ने बेलामा घरघर चहार्ने नेताहरू सिंहदरबार पसेपछि फर्केर पनि नहेर्ने प्रवृत्तिले गरिब किसानका समस्या ज्यूँकात्यूँ रहेको दुःखी हुँदै रौदी सुनाउँछन्।
सर्लाहीकै अर्का उखु किसान सीताराम महतोको कथा पनि कम दर्दनाक छैन। हातमुख जोर्ने मेसो मिलाउन उखु खेतीमै भर पर्नुपर्छ।
सीताराम महतोले पनि घाम पानी नभनी वर्षभरि खटेर उब्जाए। तर उखुको रकम पनि चिनी मिलले खाइदियो।
सीतारामले १५ कठ्ठा जग्गामा उखु खेती लगाएका छन्। त्यो पनि आफ्नै जग्गामा होइन। साहुकोमा हो। जग्गाको भाडा तिर्नुपर्छ।
उनलाई चिनी मिलले २ वर्षको बक्यौता रकम दिएको छैन।
‘भोलि दिन्छु भन्छ, पर्सिदिन्छु भन्छ, दिँदैन। हामी पीडित किसानहरू गुहार माग्दै प्रहरीसम्म पुगियो। हाम्रो कुरा जिल्लामा सुनुवाइ भएन। स्थानीय सरकार चुपचाप भएपछि हामी सिंहदरबारको सरकारलाई गुहार माग्न आएका छौँ,’ सीतारामले भने।
६० वर्षका सीतारामको परिवार पनि उखु खेतीमै निर्भर छ। श्रीमती, आफू र छोराछोरी गरेर ८ जनाको परिवार छ।
दिनरात, घाम पानी नभनी खट्दा पनि हातमुख जोर्न समस्या हुने किसानहरूलाई चिनी मिलले उखुको बक्यौता फिर्ता नदिएपछि अब उनीहरूमा निराशा बढ्न थालेको छ।
‘हामी यसरी खेती गर्न सक्दैनौँ, हामीलाई सरकारले उपलब्ध गराएको अनुदानमा पनि हामी ठगिएका छौँ, दुःख गर्ने हामी किसान, पसिनामा रमाउने मिल मालिक भएपछि हामी किन खेती गर्ने,’ सीतारामले दुखेसो गरे।
सर्लाहीका महेन्द्र महतो पनि सरकारले आफूहरूलाई बेवास्ता गरे अब उखु खेती नै नगर्ने सुनाउँछन्।
उनले भने, ‘बक्यौता रकम लिन जाँदा कसैको दिन बाँकी छैन भन्दै मिलका कर्मचारीले झपार्छन्, जिल्लाको प्रहरीसम्म पुग्दा प्रहरीले नसुनेझैँ ग¥यो। हामी सिंहदरबारको ढोका घचघच्याउँदै आएका छौँ, अब पनि सरकारले बेवास्ता गर्यो भने हामी उखु खेती गर्दैनौँ। सरकार र चिनीको मिल मालिक मिलेर उखु खेती गरोस्।’
सर्लाही सिसौटियाका ७ सयभन्दा बढी उखु किसानको एउटै समस्या छ। समस्याको कारण हो चिनी मिलको सिण्डिकेट र रजाइँ। सिसौटियास्थित महालक्ष्मी र अन्नपूर्ण चिनी मिलले किसानहरूमाथि एकाधिकार जमाएको किसानहरू बताउँछन्।
‘उखु काट्ने बेला भयो भने पनि मिल मालिकहरू क्षेत्र तोक्न आउँछन्। यो ठाउँको उखु यो मिल लैजानु पर्छ भनेर तोकेको हुन्छ। मिलले गुण्डा पालेर राखेको हुन्छ। उनीहरूको कुरा नमाने हामी किसानलाई दुःख दिने, धम्काउने गरिन्छ’ उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भने।
किसानलाई सरकारले दिएको अनुदान पनि चिनी मिल मालिकले आफ्नो खल्तीमा हालेको किसानहरूको आरोप छ। सरकारले अनुदान दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ ६८ पैसा समेत किसानहरूले पाएका छैनन्।
सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ तोके पनि मिलले किसानबाट प्रतिक्विन्टल ४ सय ३५ दिने शर्तमा उखु उठाउने गरेको छ।
अहिले सर्लाहीका १ सयभन्दा बढी किसान माइतीघरमा आन्दोलित छन्। मिलले आफूहरूको बक्यौता रकम तुरुन्त दिनुपर्ने, चिनी मिलले आफूखुसी कायम गरेको मूल्य ५ सय खारेज गरी नेपाल सरकारले निर्धारण गरेको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ कायम गर्नुपर्ने उनीहरूको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।