काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ।
मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलसँग च्यासल २–० गोल अन्तरले पराजित भएको हो। जावलाखेलको जितमा रुप बहादुर लामा र विजय घलानले गोल गरे।
खेलको पहिलो हाफमा गोलरहित खेलको जावलाखेलले दोस्रो हाफमा उत्कृष्ट खेल्दै च्यासलको पोष्टमा २ गोल गर्न सफल भयो। खेलको ८०औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई १–० गोलको अग्रता दिलाए। त्यसको २ मिनेट पछि नै विजयले गोल गर्दै जावलाखेललाई २–० गोलको जित दिलाए।
जितसँगै २ खेलमा जित र २ खेलमा बराबरी खेलेको जावलाखेल ८ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। मनाङले ४ खेलबाट १० अंक बनाउँदा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको ९ अंक छ।
सन्तोष चुके
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल सय गोल नजिक छन्।
९९ गरेका सन्तोषले जावलाखेलविरुद्ध गोल गर्दै सय गोलको कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको थियो। तर उनी सफल हुन सकेनन्। जारी लिगमा संकटाविरुद्ध २ र मछिन्द्र क्लबविरुद्ध १ गोल गर्दै ए डिभिजन लिगमा ९९ गोल पूरा गरे।
सुरुवाती दुई खेलमा ३ गोल गरेका उनले न्यु रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दा गोल गर्न सकेनन्। त्यस्तै, जावलाखेलविरुद्ध मंगलबार भएको खेलमा पनि उनले गोल गर्न सकेनन्।
लगातार सुरुवाती दुई खेलमा गोल गर्न सफल भएका सन्तोष पछिल्लो दुई खेलमा भने गोल गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।