काठमाडाैं- राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानका समस्याको समाधान गरी किसानकाे मौलिक हक र मानव अधिकार संरक्षण गर्न सरकार, चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेकाे छ ।
आयाेजले मंगलबार विज्ञप्ति निकालेर उखु किसानले लामो समयदेखि चिनी उत्पादक कम्पनीहरुबाट उखुको रकम भुक्तानी नपाएको विषयलाई लिएर काठमाडाैंमा गरिएको प्रदर्शन तथा त्यससँग सम्बन्धित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
'उखु किसानहरुलाई उखु खरिद गरेवापत नेपाल सरकारबाट उपलव्ध गराउने भनिएको अनुदान रकम तथा चिनी उत्पादक कम्पनीले उखु खरिद गरेवापत भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम लामो समयदेखि सम्बन्धित किसानहरुलाई उपलव्ध नगराएको विषय सम्बन्धमा नेपाल सरकार कृषि तथा उद्योग मन्त्रालयबाट भएका कार्यहरुको सम्बन्धमा जानकारी गराउन आयोगले पत्राचार गरेको छ।' आयाेगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'यस सम्बन्धमा आयोगको टोलीले २ नं. प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरू तथा सर्लाहीका किसान तथा चिनी मिल सञ्चालकहरूसँग समेत भेटी छलफल गरिरहेको छ।'
'उखु खेतीमा निर्भर रहेका किसानहरुले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा नागरिकको संविधान प्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने मौलिक हक कुण्ठित भएको देखिन्छ' विज्ञप्तिमा भनिएकाे छ, 'आयोगको विगतको अनुगमन तथा अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा किसानको अधिकार संरक्षणसम्बन्धी कानून निर्माणको सन्दर्भमा उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकहरूका लागि कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्न तीनै तहका सरकारहरूलाई आयोगले यस अघि नै सिफारिस गरेको पनि स्मरण गर्दछ।'
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।