राजविराज– बाढीपीडितको राहतमा अनियमितता गरेको भन्दै सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ।
वडा नम्बर ३ सकरपुराका बाढीपीडितले तालाबन्दी गरेका हुन्। कर्मचारी र जनप्रतिनिधि समेतले राहतमा अनियमितता गरेको उनीहरुको आरोप छ।
वास्तविक पीडितलाई पाखा लगाएर आफू निकटलाई राहत बाँडी राहतमा चरम रजनीति गरेको उनीहरुले गुनासो गरेका छन्। सकरपुराका लागि सिफारिस गरेको २ सय २६ परिवारको सूचीमा वास्तविक बाढीपीडितहरुसँग विभेद गरिएको आन्दोलनमा उत्रेका स्थानीयले बताए।
‘सिफारिस गरिएका २ सय २६ परिवारमध्ये वडा नम्बर ३ बाट निर्वाचित वडा सदस्य रामवती खंगको परिवार र उनकै नजिकका १३ जनाको नाम छ’, एक स्थानीयले भने। त्यसैगरी, कार्यालय सहयोगी सञ्जय खंगको परिवारबाट ३ जनाको नाम गाउँपालिकाले सिफारिस गरेको उनले बताए।
आन्दोलनकारी आमोद झाले भने, ‘राहतमा पारिवारवाद र आसेपासे हावी भएपछि हामी वास्तविक पीडित चाहि बाहिर पर्यौं।’
बाढीबाट पूर्णरुपमा घर क्षति भएका परिवारहरुलाई सरकारले २५ हजारका दरले राहत उपलब्ध गराएको छ। सोही रकम वितरणका क्रममा विवाद चुलिएको हो। बाढीले साविकको सकरपुरा गाविसको १, २, ३ र ४ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका थिए।
वडा नम्बर ३ का अध्यक्ष मनोज चौधरीले गाउँपालिका कार्यालयलाई पत्राचार गरी सूचीमा कतिपय बाढीपीडितको नाम छुटेकाले सच्याउन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष लगायतका पदाधिकारीहरुले भने स्थानीय तह निर्वाचनपूर्व नै पीडितहरुको नामावली तयार भएकाले त्यस सम्बन्धी जानकारी नभएको बताएका छन्।
अध्यक्ष सतिसकुमार सिंहले बाढीपीडितहरुसँगको छलफलबाट चाँडै निकास निकाल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।