काठमाडौं– प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको प्रहरी समन्वय समिति (पिसिसी)को बैठकमा प्रदेश प्रहरी ऐन, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा विजेता खेलाडीलाई सम्मानलगायतका बारेमा छलफल भएको छ।
प्रदेश प्रहरी ऐनको ड्राफ्ट एआइजी ठुले राईको टोलीलले तयार गरेको थियो। प्रदेश प्रहरी ऐन कस्तो हुने र यसका अधिकारलगायतका बारेमा थप अध्ययन गर्नुपर्ने देखिएको भन्दै अर्को बैठकमा समेत यस बारेमा छलफल गर्ने निर्णय भएको छ।
करिब २ घण्टा बसेकाे बैठकमा उपस्थितलाई उक्त ड्राफ्ट थप अध्ययनका लागि दिइएकाे एक अधिकारीले जानकारी दिए।
त्यस्तै सिसिटिभीका बारेमा समेत गहन रुपमा छलफल भएको सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए। सहरी क्षेत्रहरुमा हरेक वर्ष सिसिटिभी जडान गर्ने क्रममा बढ्दै गए पनि जडान भएका मध्ये करिब ५० प्रतिशत सिसिटिभीले काम नगर्ने गरेको भन्दै यसको सुधारका बारेमा छलफलल भएको थियो। जसका लागि हरेक जिल्लामा सिसिटिभी ममर्त र जडानका बारेमा एउटा प्राविधिक टोली गठन गर्ने निर्णय भएको छ।
त्यस्तै हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान गर्ने बारेमा पनि छलफल भएको छ। त्यसका लागि एक समिति तयार गरेर उसकाे निर्णय अनुसार नगदसहित सम्मान गर्ने निर्णय भएको स्रोतले जानकारी दियो। सागमा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक जित्न गर्न सफल भएका थिए।
प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ एउटा , बक्सिङतर्फ १, र पुरुष फुटबलतर्फ १ गरी कूल १६ वटा स्वर्ण पदक छन्। यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १, टेबुल टेनिसतर्फ १, कुस्तीतर्फ १, महिला फुटबलतर्फ १, महिला कबड्डीतर्फ १ र महिला बास्केटबलतर्फ १ गरी कूल १४ वटा रजत पदक प्राप्त भएका छन्।
भारोत्तोलनतर्फ ७ वटा, जुडोतर्फ ५ वटा, तेक्वान्दोतर्फ ५ वटा, टेबुल टेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा, ब्याडमिन्टनतर्फ १ र पुरुष क्रिकेटतर्फ १ गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ। उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।