राजविराज– एक महिनामा ८ बलात्कार र ४ महिला हिंसाका घटना भएको सप्तरीमा महिला अधिकारकर्मीहरुको सक्रियता देखिएको छ।
महिला मानव अधिकार रक्षक सञ्जाल (डब्लुएचआरडी) सप्तरीको अगुवाइमा सोमबार राजविराजमा बलात्कार र महिला हिंसा विरुद्ध जुलुस प्रदर्शन तथा खबरदारी गरेका हुन्।
बलात्कार र महिला हिंसा विरुद्ध विभिन्न नारा अंकित प्लेकार्ड बोकेर निस्केका महिलाहरुले नगर परिक्रमा गर्दै घटना नियन्त्रणका लागि खबरदारी गरे। जुलुसमा ‘महिला हिंसा बन्द गर', 'बलात्कारीलाई कडा कारबाही गर', 'सामाजिक अपराध विरुद्ध एक जुट बनौं', 'हिंसारहित समाजको निर्माण गरौं’ जस्ता नारा लगाइएको थियो।
जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सञ्जालकी अध्यक्ष अनिता देवकोटाले एकाएक बढेका महिला हिंसाका घटनाले आफूलाई चिन्तित बनाएको बताइन्। सामाजिक विकृतिका रुपमा रहेका यस्ता समस्या जनस्तरबाटै दबाव दिएर समाधान र न्यूनीकरण गर्नुपर्नेमा जोड दिदै उनले बलात्कारीलाई सामाजिक रुपमा पनि दण्डित गर्नुपर्ने धारणा राखिन्।
कानुन व्यवसायी एवं महिला अधिकारकर्मी मनु खनालले ऐन/कानुनमा भएका कमजोरीको फाइदा उठाएर कागज र दबावको भरमा दोषी उम्कने गरेको पाइएकाले यस्ता घटनामा संवेदनशील भएर पीडितहरुको पक्षमा उभिन र त्यसै अनुसार न्याय सम्पादन गर्न न्यायमूर्तिहरुलाई आग्रह समेत गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।