काठमाडौं- नेपाल धितोपत्र बोर्डको भावी अध्यक्षका लागि सोमबार भएको अन्तर्वार्ता र प्रस्तुतीकरणबाट ३ जना छनोट भएका छन्। राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वको छनौट समितिले अन्तिम ५ मध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो।
समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताबाट भीष्मराज ढुंगाना, निरज गिरी र केशव श्रेष्ठलाई छनोट गरेको हो। सोमबार भएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सर्ट लिस्टमा परे पनि सीताराम थपलिया भने उपस्थित थिएनन्। दुवै मूल्यांकनमा सहभागी भएका नवराज अधिकारी भने अन्तिम ३ मा पर्न सकेनन्।
छनोट भएका ३ जनामध्येबाट नेपाल सरकारले १ जनालाई बोर्ड अध्यक्षको जिम्मवारी दिनेछ। अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ।
आवेदन दिएकाहरुको व्यक्तिगत विवरण, कार्यानुभव आदिको मूल्यांकनबाट ५ जनाको अन्तिम सूची तयार गरिएको थियो। छनोट समितिले बोर्ड सञ्चालक समितिका विज्ञ सदस्य र दुई कर्मचारीसहित ५ जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो।
बोर्ड सञ्चालक समितिमा विज्ञ सदस्यका रुपमा ढुंगाना रहेका छन् भने गिरी बोर्डका कार्यकारी निर्देशक हुन्। श्रेष्ठ विकास पूर्वाधारका क्षेत्रमा काम गरेका व्यवस्थापन क्षेत्रका व्यक्ति हुन्।
अध्यक्षका लागि बलियो दाबेदार मानिएका ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश पाएका व्यक्ति हुन्। केही महिनाअघि मात्रै अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा मनोनयन गरेका थिए। त्यतिबेला नै उनलाई भावी अध्यक्षका रुपमा हेरिएको थियो।
अन्य प्रतिस्पर्धीका तुलनामा उनको संभावना बढी भएको आँकलन गर्न थालिएको छ। तर यसको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्ने भएकाले अर्थमन्त्रीकै चाहनाअनुसार मात्र नहुने तर्क गर्ने पनि उतिकै छन्।
असोज यता रिक्त रहेको बोर्ड अध्यक्ष छनौट खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो। बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ बमोजिम खुल्ला प्रतियोगिताबाट अध्यक्ष छनौटका लागि १५ दिने सार्वजनिक सूचना निकालेकोमा यो अवधिमा ८ जनाको आवेदन परेको थियो।
यसअघिका अध्यक्ष डा रेवतबहादुर कार्की गत असोजमा ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बिदा भएका थिए। कार्की बोर्डबाट बिदा भएसँगै अर्थ मन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा राजश्व सचिव शिशिरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेको तीन सदस्सीय समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।