काठमाडौं- मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। मनाङका लागि रञ्जन विष्टले गोल गरे। यता, फ्रेन्ड्स क्लबका लागि उत्तम राईले गोल गरे।
खेलको १२औं मिनेटमा रञ्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेन।
खेलको ६२औं मिनेटमा फ्रेन्ड्स क्लबका लागि उत्तमले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि निकै आक्रमक खेल खेलेको मनाङले फ्रेन्ड्स क्लबको डिफेन्स तोड्न सकेन।
यसअघि २०७५ सालमा भएको ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा मनाङले फ्रेन्ड्स क्लबसँग १–० गोलको हार ब्यहोरेको थियो।
बराबरीसँगै मनाङ शीर्ष स्थानमा उक्लिएको छ। मनाङले ४ खेल खेल्दै १० अंक बनाएको छ। यता, मनाङविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको फ्रेन्ड्स क्लबले भने १ अंक बटुल्न सफल भएको छ। फ्रेन्ड्स क्लबले यसअघिका ३ वटै खेलमा हार ब्यहोरेको थियो।
लिगको दोस्रो स्थानमा भने मछिन्द्र क्लब छ। मछिन्द्रले यसअघि आजै भएकोखेलमा न्यु रोड टिम (एनआरटी) लाई १–० गोलले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।